नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने बताएका छन्।
बिहीबार दाङमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता गर्ने निर्णय कानुनी राज्यको मर्मविपरीत भएको भन्दै सरकारलाई निर्णय तत्काल सच्याउन आग्रह गरेका हुन्।
आफ्नो मन्तव्यको सुरूमै उनले नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा पुरानो पार्टी नेपाली कांग्रेस लोकतन्त्र संकटमा परेको बेलामा टुक्रनु अत्यन्तै दुःखद् घटनाको रूपमा चित्रण गरेका थिए।
‘राजनीतिक दलहरू जति बलिया हुन्छन्, त्यति नै लोकतन्त्र पनि सफल हुन्छ। नेपाल राष्ट्र पनि सफल हुन्छ,’ उनले भने, ‘राजनीतिक दलहरू कमजोर हुनुको अर्थ लोकतन्त्र कमजोर हुनु हो नेपाल राष्ट्र पनि स्वाधिनता स्वाभिमान र राष्ट्रिय एकता पनि कमजोर हुनु हो।’
बलिया राजनीतिक दलहरूले मात्रै लोकतन्त्र बलियो हुने र राज्य बलियो हुने हुँदा राजनीतिक दलहरूको सबलीकरणमा जोड दिन जरूरी रहेको पोखरेलले बताए।
उनले कांग्रेसलाई अन्तरसंघर्षबाट एकतामा फर्किन ढिलाइ नगर्न आग्रह गरेका थिए। त्यसपछि उनले आम निर्वाचनको कुरा गरेका थिए। माघ ६ गते निर्वाचन आयोगले मनोनयन दर्ताको मिति घोषणा गरेको भन्दै उनले सरकार निर्वाचनको वातावरण बनाउन लागि नपरेको उनको आरोप थियो।
त्यसपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कुरा गरेका थिए।
‘खासगरी फौजदारी अभियोग लागेका पूर्वगृहमन्त्रीका सन्दर्भका बारेमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिने भन्ने प्रसंग जसरी यो सरकारले महान्यायाधिवक्तामार्फत निर्णय गर्यो भन्ने कुरा बाहिर आयो/आइरहेको छ,’ उनले भने, ‘यदि यो कुरा सत्य हो भने यसले नेपालको कानुनी राजलाई कमजोर बनाउँदैछ र २३ र २४ गतेको घटनाको अन्तर्य के रहेछ। अदालतहरूमा आगजनी गर्नुको अन्तर्य के रहेछ सरकारी अड्डा अदालतमा तोडफोड र आगजनी गर्नुको अन्तर्य के रहेछ भन्ने कुरालाई यसले थप उजागर गर्दछ भन्ने मलाई लाग्दछ।’
महासचिव पोखरेलले सरकारलाई बाहिर आएको कुराबाट पछाडि हट्न वा त्यो मुद्दा फिर्ता नलिन र सही बाटोमा हिँड्न सरकारलाई अनुरोध गरे।
त्यस्तै, महासचिव पोखरेलले जनताको बीचमा नयाँ शक्तिको रूपमा आउन चाहने पार्टी र नेतृत्वले त्यस्ता अनुचित कार्य गर्न नहुने बताए।