नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सहमहामन्त्रीमा उदय शमशेर राणालाई निर्वाचित गर्यो।
कांग्रेसमा ८ सहमहामन्त्री रहने विधानको व्यवस्था छ। खसआर्य कलस्टरबाट राणा सहमहामन्त्री बने।
उदय शमशेर कांग्रेस ललितपुरका पूर्वसभापति सागर शमशेर राणाका छोरा हुन्। सागर शमशेर यस्ता नेता हुन्, जसको अगुवाइमा भएको भेलाले शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिक गठन हुन पुगेको थियो।
यो कुरा केन्द्रीय समितिको केही समयअघिको बैठकमै उदय शमशेरले सुनाएका थिए। त्यसबेला उनी विशेष महाधिवेशनभन्दा पनि नियमित महाधिवेशनकै पक्षमा थिए।
गत कात्तिक १९ गते सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उदय शमशेरले भनेका थिए, ‘विशेष महाधिवेशन नगरौं, यसले पार्टीमा मतभेद ल्याउन सक्छ, नियमित महाधिवेशन गरौं।’
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए।
साथै राणाले नेपाली कांग्रेसबाट नेपाली कांग्रेस प्रजातान्त्रिक बनेका बेलाको प्रसंग पनि सुनाएका थिए। त्यसबेला आफ्ना बाबु ललितपुर कांग्रेस सभापति रहेको र सुरूमा भेला गरेको बताउँदै भनेका थिए, ‘मेरो अगुवाइमा भएको भेलाले पार्टी विभाजनमा पुगेको थियो, त्यो मेरो गल्ती थियो भनेर बाले अहिले पनि भन्ने गर्नुहुन्छ,’ उनले भनेका थिए।
तर सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अधिकांश संस्थापन पक्षका केन्द्रीय सदस्यहरू नियमित महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्न तयार नभएर बहुमतका आधारमा वैशाख मसान्तमा महाधिवेशन सारेपछि भने उदय विशेष महाधिवेशन पक्षसँग नजिकिँदै गए र पहिले विरोध गरेकै विशेष महाधिवेशनबाटै सहमहामन्त्री बने।
उदय शमशेरले भारत र अमेरिकामा पढेका हुन्।
राजनीतिक परिवारमा जन्मे/हुर्केका उनी नेविसंघ र नेपाल तरूण दल हुँदै कांग्रेसको राजनीतिमा आएका थिए।
उनलाई तत्कालीन सभापति सुशील कोइरालाले नेपाल तरूण दल अध्यक्ष बनाएका थिए। साथै उनी ललितपुर क्षेत्र नम्बर १ बाट २०७० मा संविधान सभा सदस्य पनि बनेका थिए।
साथै उनी अर्थ राज्यमन्त्री पनि बनेका थिए।
२०७२ मा भएको कांग्रेसको १३ औं महाधिवेशनमा उदय शमशेर केन्द्रीय सदस्य पदमा झिनो मतान्तरले पराजित भएका थिए। २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा भने उनी केन्द्रीय सदस्य जितेका थिए, शेरबहादुर देउवा प्यानलबाट।
सभापति देउवा प्यानलबाट १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य जिते पनि अहिले विशेष महाधिवेशनबाट उनी सहमहामन्त्री बने। सभापति देउवा पक्षबाट विद्रोह गरी उनी गगन-विश्वप्रकाशसँग नजिकिएर विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका हुन्।