नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन आयोगको निर्णयलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्।
केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब पुराना नेता र धेरै नयाँ साथीहरू एक ठाउँमा उभिन पर्ने बताएका छन्।
उनले निवर्तमान सभापति शेरबहादुर देउवाबाट अभिभावक, संरक्षकको भूमिकाको अपेक्षा गरेको पनि बताए।
उनले भने, ‘उहाँहरूबाट अभिभावकको भूमिकाको अपेक्षा गरेको छु, संरक्षकको भूमिकाको अपेक्षा गरेको छु। उहाँले पनि आह्वान गर्दिनुपर्छ। उहाँले देशभरिका साथीहरूलाई भन्दिनुपर्छ अब यो रोक, सकियो।’
एउटा चरणसम्म आआफ्नो विमतिहरू रहे पनि सबै एकजुट हुनुपर्ने उनले बताए।
उनले भने, ‘म पार्टीको वरिष्ठ नेता शेखर कोइरालाबाट पनि त्यही कुराको अपेक्षा गर्छु। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि त्यही अपेक्षा गर्छु। र मलाई के विश्वास छ भने हामी एक-दुई दिन भित्रमा तपाईंहरूले हामी सबै नेपाली कांग्रेस पार्टीका साथीहरूलाई एक ठाउँमा बसेर एक ढिक्का भएर छलफल गरिरहेको संवाद गरिरहेको र निर्णय गरिरहेको देख्न पाउनुहुन्छ।’
संवादको थालनी सुरू भइसकेको समेत उनले बताए।
‘पार्टीका साथीले विभिन्न तहमा कुराकानी गरिरहनु भएको छ। मलाई विश्वास छ हामी एक दुई दिनभित्र सबै विषय टुंग्याउँछौं,’ उनले भने।