नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउने सम्भावना न्यून छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते (भोलि) उम्मेदवारी दर्ताको कार्यक्रम छ।
यसबीचमा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र निवर्तमान सभापति देउवा पक्षका नेताहरूबीच संवाद हुन थालेको छ।
निवर्तमान सभापति देउवा पक्षका नेताहरूले देउवासहित नेताहरूलाई टिकट दिनुपर्ने कुरा गर्न थालेका छन्।
उम्मेदवार हेरेर जित्न सक्ने नेताहरूलाई टिकट दिन संस्थापन पक्ष तयार भए पनि निवर्तमान सभापति देउवालाई भने टिकट दिने पक्षमा उनीहरू देखिएका छैनन्।
हिजोदेखि दुई पक्षबीच संवाद अघि बढेको कांग्रेसका एक पदाधिकारीले सेतोपाटीलाई जानकारी दिए।
ती पदाधिकारीको भनाइमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नाम दिएअनुसार विशेष महाधिवेशनका बेला वार्ता समितिमा रहेका नेताहरूसँग संस्थापन पक्षको कुराकानी हुन थालेको छ।
उनीहरूले टिकट लगायत विषयमा बसेरै कुराकानी गर्नुपर्ने बताउने गरेको संस्थापन पक्षका नेताहरूको भनाइ छ।
संस्थापन पक्षले भने समय अभावका कारण पनि अब छलफल गर्न गाह्रो हुने बताएको छ।
‘निवर्तमान सभापति पक्षका नेताहरूसँग संवाद अघि बढेको छ, उहाँहरूका तर्फबाट निवर्तमान सभापति देउवासहित यति सिट चाहिन्छ भन्नेजस्ता कुरा आएका छन्,’ ती पदाधिकारीले भने, ‘देउवा पक्षमा रहेका चुनाव जित्न सक्ने नेताहरूले टिकट पाउनुहुन्छ, तर संस्थापन इतर पक्षलाई भाग भनेर, गुट बैठक बसेर टिकट दिने तयारी हाम्रो छैन। निवर्तमान सभापति एक हिसाबले अब राजनीतिक अवकाश नै जानुपर्छ, उहाँ अभिभावकीय भूमिकामा बस्ने हो, उहाँलाई चाहिँ टिकट दिँदैनौँ। उहाँलाई टिकट दियो भने मुलुकभरि मेसेज ठिक ढंगले जाँदैन, पार्टीमा अहिले रूपान्तरण र पुस्तान्तरण भएको अवस्था छ।’
संस्थापन पक्षका नेताहरूले कसैको गुट चल्ने गरी अब पार्टीमा छलफल नहुने बताएका छन्।
‘पार्टीका तल्ला निकायहरूबाट सिफारिस भइ आएका आधारमा हामी टिकट दिन्छौं, गुटगुटका बैठक बसेर यति संख्या चाहिन्छ, उति सङ्ख्या चाहिन्छ भनेका आधारमा टिकट दिइँदैन,’ ती पदाधिकारीले भने, ‘अर्को चुनावदेखि त हामी प्राइमरी इलेक्सन नै गरेर उम्मेदवार तय गर्छौं।’
कांग्रेस सभापति गगन थापाले उम्मेदवार चयनका लागि आफूहरू अन्तिम चरणमा रहेको बताएका छन्।
आज बिहान एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले टिकट वितरण गरिने उल्लेख गरेका हुन्।
उनले नेता कार्यकर्ताहरूलाई आआफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एक ढिक्का भएर लाग्न पनि आग्रह गरेका छन्।
निर्वाचन आयोगले विशेष महाधिवेशन कार्यसमितिलाई मान्यता दिएपछि निवर्तमान सभापति देउवा पक्षका नेताहरु त्यो निर्णय खारेज गर्न मागसहित सर्वोच्च अदालत गएका छन्।
पार्टीभित्रको विवाद सर्वोच्चमा रहेका बेला दुई पक्षबीच संवाद अघि बढेको छ। सर्वोच्चबाट निर्णय आउन समय लाग्नेजस्तो देखिएको भन्दै त्यो बेलासम्म प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता सकिने भएकोले नेताहरू मिलेरै जाने गरि संवादमा रहेका छन्।
निवर्तमान प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सामाजिक सञ्जालमा लेख्दै आधा टिकटमा देउवा (समानुपातिक) र आधा टिकटमा गगन थापाले (प्रत्यक्ष) मा हस्ताक्षर गर्ने भएकोले मिलेरै अघि जान आग्रह गरेका छन्।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि चुनाव चिह्न रूखबाहेक अन्यथा सोच्न नसकिने भन्दै नयाँ पार्टी खोल्ने वा स्वतन्त्र उम्मेदवारी दिने कुनै तयारी नरहेको कुरा सामाजिक सञ्जालमा राखेका छन्।