नेकपा एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार बिचौलियाहरूले चलाइरहेको आरोप लगाएका छन्।
अहिले सरकार प्रधानमन्त्रीले नभई प्रधानमन्त्रीको सचिवालयले चलाएको र सचिवालयका व्यक्तिहरू सबै बिचौलियासँग जोडिएको उनको आरोप छ।
संविधान, कानुन र राज्यका संस्थागत संरचनाले नचिनेका व्यक्तिहरूले राज्य सञ्चालनमा हस्तक्षेप गरिरहेको उनले बताए।
प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूले पक्राउ परेका बिचौलियाको अनुसन्धानमा हस्तक्षेप गरेको उनले बताए।
एमाले राष्ट्रिय भेलामा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान सरकारले आरोप राज्यका संवैधानिक तथा कानुनी निकायलाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाए।
उनले मन्त्रालयको संख्या घटाउने तर प्रधानमन्त्रीको सचिवालय विस्तार गर्ने सरकारी कार्यशैलीमाथि पनि प्रश्न उठाए।
सरकारले जनतालाई दिएका आश्वासन समेत पूरा गर्न नसकेको उनको भनाइ छ।
उनले भने, ‘प्रधानमन्त्रीको मुख्य सल्लाहकारले बिचौलियाको फोन प्रहरीकोमा जानु भन्दा अगाडि जान्छ, आफ्ना सबै कुराहरू हटाउँछ। बिचौलियाको अनुसन्धान गर्दा प्रधानमन्त्रीका सचिवालयका मान्छे गएर हस्तक्षेप गर्छ। मन्त्रालय घटाउछन्, सचिवालय बढाउछन्। अनि सचिवालयका मान्छे के गर्छन्? दिनदहाडै राज्यका इन्स्टिट्युसनहरूमाथि हस्तक्षेप गर्छन्। संविधान, कानुनले नचिनेका मान्छेहरूले राज्यलाई आज नाङ्गो हस्तक्षेप गरेर बेवकुफ बनाइरहेका छन्। निकम्मा बनाइरहेका छन्। यो गम्भीर कुरा हो, एक प्रकारको अराजकता हो। फासीवादी शैलीबाट सरकार अगाडि बढिरहेको छ।’
–न्युज एजेन्सी नेपाल