राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्ष्य गरेर मधेस प्रदेशको राजधानी जनकपुरबाट आफ्नो चुनावी अभियान सुरू गर्यो। रास्वपाबाट भावी प्रधानमन्त्री घोषित बालेन शाहको पहिलो राजनीतिक सम्बोधन नै यही कार्यक्रम बन्न पुग्यो।
झापा-५ का उम्मेदवार बालेनले आफ्नो संसदीय राजनीतिको सुरूआत मधेसको राजधानीबाट मात्र गरेनन्, उनले मैथिली भाषामा भाषण दिएर मधेससँग अपनत्व पनि जाहेर गरे।
त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापा आफूले सधैं जित्दै आएको काठमाडौं-४ छाडेर सर्लाही-४ बाट चुनाव उठ्न गएका छन्। कांग्रेसबाट भावी प्रधानमन्त्री घोषित थापा संघीय राजधानी छाडेर मधेसको जनप्रतिनिधि बन्न आउनुलाई देशको पुरानो राजनीतिक पार्टीले मधेसमा आफ्नो प्रभाव बढाउन खोजेको रूपमा हेरिएको छ।
यी घटनाले मधेसको चुनावी माहोलमा कस्तो असर पारेका छन्? त्यहाँका मान्छे प्रमुख दलहरूले मधेसलाई दिएको महत्त्वबारे के भनिरहेका छन्?
यसै सन्दर्भमा हामीले राजनीतिक विश्लेषक चन्दकिशोरसँग कुराकानी गरेका छौं।
चुनाव लागेसँगै राजनीतिको केन्द्र मधेस सरेजस्तो भयो। तपाईंलाई कस्तो लागिरहेको छ? मधेसका मानिस के भनिरहेका छन्?
मधेसमा अहिलेसम्म शीतलहर थियो। घाम छेकिएको थियो। अब घाम लाग्न थाल्यो। मैले यो विम्ब किन भनिरहेको छु भने, चुनाव हुन्छ कि हुन्न भन्ने जुन संशय देखिएको थियो, अब त्यो संशय छैन। चुनावी राजनीति ग्राउन्डसम्म पुगेको छ, भुइँतहका मान्छेले चुनावमा रूचि लिइरहेका छन्।
२०६२/६३ को जनआन्दोलनपछि मधेसमा एउटा प्रश्न सधैं गरिन्थ्यो — मधेसको पक्षमा कसले बोल्ने हो? मधेसको प्रतिनिधित्व कसले गर्छ?
यसपटक राष्ट्रिय दलहरू — नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी — ले जसरी आफ्ना प्रस्तावित प्रधानमन्त्रीलाई मधेस ओराले, त्यसले पनि यो प्रश्नबारे उनीहरू सचेत छन् भन्ने देखायो।
२०६२/६३ पछि सत्ताको समीकरण हुँदा वा राष्ट्रिय बहस चल्दा मधेसलाई कसरी त्यसमा समावेश गर्ने भन्ने कुरा भइहाल्थ्यो। तर जेनजी आन्दाोलनपछिका घटनाक्रममा मधेस 'मिसिङ' भइरहेको थियो। जेनजी आन्दोलनपछिको राष्ट्रिय बहसमा मधेस कहीँ थिएन। अहिले नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपा नेता बालेन शाह आएपछि मधेस फेरि बहसको केन्द्रमा आएको छ।
मधेसमा यसपालि प्रस्तावित प्रधानमन्त्री भनिएका गगन थापा र बालेन शाह आए। पहिला गगन थापाको कुरा गरौं। उनी सभापति भएपछि मधेस आए। सर्लाही–४ मा निर्वाचन लड्न आउँदा उनलाई कति चुनौती छ र समग्र मधेसमा कांग्रेसलाई यसले के असर गर्छ?
हामीकहाँ एउटा परम्परागत मान्यता के थियो भने, पहाडको उम्मेदवार पहाडी बहुल भएको ठाउँमा जाने र मधेसी बहुल भएको ठाउँमा मधेसी उम्मेदवार जाने। कसको पक्षमा को बोल्छ, कसको प्रतिनिधित्व कसले गर्छ भन्ने कुरा थियो। मधेसको प्रतिनिधित्व मधेसी दलले मात्र गर्छ भन्ने एउटा बुझाइ थियो।
यतिखेर न्यारेटिभ परिवर्तन भएको छ। यो निर्वाचनले न्यारेटिभ परिवर्तन गर्छ। निर्वाचनकै बेला राष्ट्रिय नेतृत्व गर्नेहरूले जोखिम मोलिदिन्छन्।
गगन थापा नेपाली कांग्रेसको सभापति भएपछि मधेस झर्नुभयो। उहाँ यता यस कारण आउनुभएको हो, किनभने मधेस नेपाली कांग्रेसका लागि सुरूबाटै एउटा उर्वर ठाउँ हो।
सुरूका चुनावदेखि नै मधेस नेपाली कांग्रेसको आधार क्षेत्र थियो। २०६२/६३ को मधेस आन्दोलनपछि भने एक किसिमले मधेसबाट कांग्रेस 'डिस्कनेक्ट' भएको थियो। मधेसको मनोभाव र यहाँको प्रतिनिधित्वलाई सापेक्ष रूपमा हेरिएन भन्ने एक प्रकारको असन्तुष्टि थियो। त्यही असन्तुष्टिका कारण नेपाली कांग्रेस र मधेसबीच एउटा दूरी रहिआएको थियो।
सभापति भइसकेपछि गगन थापाले नेपाली कांग्रेसलाई परम्परागत नाता जोडिएका ठाउँहरूसँग पुनः नाता जोडेर बलियो शक्ति बनाउन चाहेका छन् भन्ने देखिन्छ। उहाँ मधेस आउनु भनेको विभिन्न आन्दोलनमा मधेसको विरासत अपनाउन खोजेको हो भन्ने देखाउँछ।
२००७ सालदेखि पञ्चायतविरोधी आन्दोलनको इतिहास मधेसका प्रत्येक गाउँले बोकेका छन्, अपनाउन खोजेका छन्। कांग्रेसका सभापति यहाँ आएर उम्मेदवारी दिँदा स्वाभाविक रूपमा राष्ट्रिय विमर्शको राजमार्गमा मधेस जोडियो। तर सँगै चुनौती पनि छन्।
म खासगरी तीन प्रकारका चुनौती देख्छु।
पहिलो, मधेसमै पर्ने रौतहटबाट चुनाव जितेर माधवकुमार नेपालजी प्रधानमन्त्री हुनुभयो। उहाँ सत्तामा भएका बेला दक्षिण एसियामा कहीँ पनि नभएको पहिचानको खोजी मधेसी जनताले गरेका थिए।
श्रीलंकामा तमिलहरूले संघर्ष गर्दा उनीहरूले तमिल नागरिकता खोजेका थिए। पाकिस्तानमा बलुचहरूले बलुच पहिचान खोजेका थिए। नेपालमा मधेसीले भने नेपाली नागरिकता नै खोजेका थिए। तर उनीहरू आफ्नो स्थानीय क्षेत्रमा मधेस सरकार बनाउन चाहन्थे।
यो राष्ट्रियताको भावलाई प्रधानमन्त्रीका रूपमा माधव नेपालले स्वामित्व लिन सक्नुभएन। उहाँ त राष्ट्रिय कदका नेता हुनुहुन्थ्यो, उहाँ पहाड र हिमालमा मधेसका राजदूत भएर जानुपर्थ्यो, तर सक्नुभएन।
गगनजीसँग पनि त्यही चुनौती छ।
गणतन्त्र र संघीयताका लागि न्यारेटिभ दिने काम मधेसले गरेको हो। उहाँले मधेसको यो मनोभावलाई कसरी मुख्य धारमा जोड्नुहुन्छ भन्ने सवाल छ।
दोस्रो, मधेसका केही क्षेत्रीय अपेक्षा छन्। हाम्रो आत्मसम्मान भएन, हाम्रो गरिमा भएन, राज्यमा हाम्रो पहुँच भएन, हामीलाई भेदभाव गरियो, आन्तरिकीकरण भयो, यस्ता भावना मधेसी जनताका मनमा छन्, त्यसलाई भत्काउनुपर्छ।
तेस्रो, मधेसले चुनेका जनप्रतिनिधि यो देशको सर्वोच्च कार्यकारीमा पुग्न सक्छन् र पुगेपछि मधेसको भावना प्रतिनिधित्व गर्न सक्छन् भन्ने विश्वास दिलाउनु गगन थापाजीको अर्को चुनौती हो। गगनजीले आफ्ना व्यवहारबाट, आफ्नो आदर्शबाट मधेसका जनतालाई राष्ट्रिय लोकमार्गसँग जोड्नुपर्नेछ।
बालेन काठमाडौंमा हुर्केबढेका मधेसी युवा हुन्। उनी पनि पहिलो चुनावी सभा गर्न जनकपुर पुगे। मैथलीमा भाषण गरे। प्रस्तावित प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सारेर मधेस आएको रास्वपालाई यो घटनाले प्रदेशमा स्थापित गर्न कति सहयोग गर्छ?
पहिलो कुरा त, रास्वपाको प्रभाव मधेसमा शून्य थियो। अब यहाँ उपस्थिति बढाउन रास्वपाले बालेन 'टुल' खेल्यो। जबकि, अहिलेसम्म बालेनजीको मधेसी पहिचान लुकाइएको थियो।
उहाँ पहिलो पटक मधेस आउँदा मधेसी पहिचान लिएर आउनुभयो। जनकपुर आउँदा जसरी उहाँले स्थानीय भाषा अथवा मैथली भाषामा संवाद गर्नुभयो, त्यो भनेको उहाँले आम जनतासँग आफूलाई 'कनेक्ट' गर्न खोज्नुभएको हो। ड्रेस अप पनि उहाँले पहिला कुर्ता नै लगाउनुभयो।
भन्नुको मतलब, बालेनमार्फत् रास्वपाले 'हामी तिम्रै अनुहारका मान्छेलाई प्रधानमन्त्री बनाउन चाहेका छौं, त्यस कारण हामीलाई सपोर्ट गर्नुपर्छ' भन्ने सन्देश दिएको छ।
यसले बालेनजीलाई पनि दलको अनुशासनमा बाँध्यो। उहाँ एउटा स्वतन्त्र पोलिटिक्स गर्ने भन्नुहुन्थ्यो, तर जनकपुर आउनुअघि दलसँग आबद्ध हुनुभयो। दलसँग आबद्ध भएको व्यक्ति स्वतन्त्र हुँदाजस्तो अराजक हुन पाउँदैन। अब उहाँ दलीय अनुशासनमा बाँधिनुहुन्छ। दलका केही सार्वजनिक प्रतिबद्धता हुन्छन्, त्यसलाई आत्मसात् गर्नुपर्ने हुन्छ। यो राम्रो पक्ष भयो।
बालेनजीले जनकपुरको सभामा बोलेको कुराले अर्को सन्देश पनि दिन्छ। रास्वपा र बालेनजीले प्रादेशिक अस्तित्व स्वीकार नगर्ने भन्ने जुन संशय थियो, त्यसलाई यसले स्पष्ट पारेको छ। उहाँले हामी अधिकार भएको संघीयता खोज्दैछौं भन्नुभयो। त्यसले राम्रै भयो।
तर हिजो काठमाडौंको मेयर हुँदा कवाडवाला तथा सडक व्यापारीलाई उहाँले जुन किसिमको व्यवहार गर्नुभयो, मधेसीको चाड छठका लागि रानीपोखरी खोल्न दिनुभएन, ताल्चा लगाइयो, यसबारे कुनै स्पष्टीकरण दिनुभएन।
उहाँ रणनीतिक रूपमा जनकपुरमा प्रस्तुत हुनुभयो। उहाँले लोकतन्त्रमा 'गंगा गए, गंगा दास, जमुना गए जमुना दास' हुँदैन भन्ने बुझ्नुपर्छ। मधेस आउँदा पाइजामा, कुर्ता र गम्छा लगाउने, अनि पहाड उक्लिँदा झोला राख्ने र टोपी झिकेर लगाउने हो भने अभिनय गरेको बुझिन्छ भन्ने जान्नुपर्छ।
गणतन्त्रबारे अहिले पनि उहाँहरूले बोल्नुभएको छैन। समावेशितामा उहाँको स्पष्टीकरण अझै आउनुपर्छ।
एउटा भूगोलको बासिन्दा अर्को भूगोलमा चुनाव लड्न गएजस्तै एउटा भूगोलको बासिन्दा अर्को भूगोलमा गएर साना-ठूला कारोबार गर्न पाउने हुन् कि होइनन्? व्यवसाय गर्न पाउने हुन् कि होइनन्? त्यो पनि सुनिश्चित हुनुपर्यो। मधेसका मान्छे पहाड गएर आफ्नो चाड मनाउन पाउने हुन् कि होइनन्? आफ्नो काम गर्न पाउने हुन् कि होइनन्? यी सवालमा अझै उहाँले स्पष्ट पार्नुपर्छ, अनि बल्ल स्थापित हुन सजिलो हुन्छ।
मधेसमा यसपालि दुई वटा क्षेत्रीय दल छन् — जसपा र जनमत पार्टी। मधेस आन्दोलनबाट स्थापित उपेन्द्र यादवको जसपा पुरानो पार्टी हो। कांग्रेस र रास्वपाले मधेसमा सक्रियता बढाउँदा जसपालाई दबाबमा पार्छ कि पार्दैन?
अघिल्लो चुनावमा पनि कांग्रेस र एमाले नै प्रदेशमा ठूलो दलका रूपमा आएका थिए। मधेसमा अहिले कुनै दल विशेषको 'वेभ' (लहर) छैन। पहिले 'कोल्ड' वेभ थियो, अहिले चुनावी लहर छ, जुन कुनै दल विशेषको पक्षमा छैन।
जनमत पार्टीले पहिलो पटक चुनावमा एउटै मात्र प्रत्यक्ष जित्यो। समानुपातिकमा पाएको मतले राष्ट्रिय दल बन्यो र मधेसमा उसको राम्रै उपस्थिति छ। यो उदाउँदै गरेको सिके राउत नेतृत्वको जनमतलाई कांग्रेस, रास्वपा र तमलोपा पनि मिसिएको जसपाले दबाबमा पारेजस्तो देखिन्छ। यो दबाब चिरेर जनमत पार्टी पहिलेभन्दा ठूलो हुन्छ कि यसलाई अप्ठ्यारो पर्छ?
निश्चित रूपमा उनीहरू बलियो भएर देखा पर्दैनन्। पहिलो र दोस्रो संविधानसभा बेला जस्तो थियो, अहिले त्यस्तो हुँदैन।
म यहाँनिर भनिहालौं, मधेसी 'सेन्टिमेन्ट' आज पनि जीवित छ। घुर जस्तो अवस्था छ। घुर भनेको आगो निभ्न लाग्दा पनि खरानीमुनि बाँकी रहने झिल्को हो। विद्रोहको चेत जीवित भएकाले मधेस बारम्बार सडकमा आउँछ।
२०६२/६३ पछि तीन पटक मधेस आन्दोलन भयो। तेस्रो मधेस आन्दोलन संविधान निर्माणको समयमा कुनै नेगोसिएसन नगरी सकियो। त्यसैले पनि त्यो विद्रोह कतै जीवित छ भन्ने सोच्नुपर्छ। तर यो विद्रोही चेत कुनै एक राजनीतिक दलको पेवा होइन। यो राजनीतिक मैदान नेपालको अभिन्न अंग हो।
यहाँ एउटा मात्र नागरिक असन्तुष्ट छ, एउटा मात्र नागरिक उकुसमुकुसमा छ र ऊभित्र प्रश्न छ भने त्यसको सम्बोधन गर्ने जिम्मेवारी हरेक राजनीतिक दलको हो। ती राजनीतिक दलहरूको जिम्मेवारी त झन् धेरै हुन्छ, जसले स्वयं मधेसबाट मतको अपेक्षा राख्छन्।
नेपाली कांग्रेस होस्, एमाले होस् वा राष्ट्रिय स्वतन्त्र पार्टी — मधेसमा विद्रोहको चेत आज पनि विद्यमान छ। बाहिरबाट आगो निभेजस्तो देखिए पनि घुरभित्र झिल्को बाँकी छ भन्ने बुझ्यो भने मधेससँगको सम्बन्ध सहज बनाउन सकिन्छ।
दुई जना प्रस्तावित प्रधानमन्त्री मधेस झरेका छन्। एक मधेसी मूलका, अर्को पहाडी। यसले मुलुकको राजनीतिक ध्यान खिच्दा राष्ट्रिय एकतामा कति सकारात्मक प्रभाव पर्छ? मधेसले उनीहरूबाट के नयाँ अपेक्षा राखेको छ?
पहिला पनि प्रधानमन्त्री विराटनगर, रौतहट, कैलालीदेखि झापासम्मका व्यक्ति भए। तैपनि मधेसमा विद्रोहको चेत बाँकी रह्यो। नेताहरूले यहाँका वास्तविक मुद्दा सम्बोधन गरेर मधेसको मनोभावलाई राज्यसँग जोड्ने काम गर्नुहुन्छ कि हुँदैन? गगन, माधव र बालेन शाहले गर्नुहुन्छ कि हुँदैन? यही नै अहम् प्रश्न हो।
अबको संसदले किनारामा परेका, लोकतन्त्रका अँध्यारा कुनामा रहेका सवाललाई मुख्य धारमा ल्याउँछ कि ल्याउँदैन? विकासका मोडल के हुने? निर्णय लिँदा समाजका अन्तिम किनारामा खडा मान्छेबारे सोचिन्छ कि सोचिँदैन?
भविष्यमा यदि एउटा दलले बहुमत ल्याएर वा गठबन्धनमार्फत् बालेन वा गगन प्रधानमन्त्री बन्ने अवस्था आयो भने मधेसको पनि ठूलो स्वामित्व हुनेछ। यसले मधेसको आत्मविश्वास र राजनीतिमा मधेसको स्थान बलियो बनाउँछ।
नेपालको पहिलो गणतान्त्रिक राष्ट्रपति मधेसी बने। २०४७ सालयता कैलालीदेखि झापासम्म मधेसबाट ६ जना प्रधानमन्त्री (गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला, मनमोहन अधिकारी, माधवकुमार नेपाल र केपी ओली) निर्वाचित भएका छन्। इतिहास हेर्ने हो भने पनि महारानी कान्तवती मिथिलाकी बेटी हुन्। दरबारमा पनि मधेस पुगे। तैपनि मधेस आन्दोलित छ।
त्यसैले देखाउने प्रतिनिधित्व भएर मात्र हुँदैन। मधेसी मतको अपेक्षा गर्दै यसपालि मधेस आउनेहरूले साँचो अर्थमा यहाँको प्रतिनिधित्व गर्नुपर्छ।
नेताहरूले मधेसबारे दुई जिम्मेवारी लिनुपर्छ — पहिलो, पहाड-मधेसको भावनाबाट माथि उठेर मद्दत गर्नु। दोस्रो, जो जितेर जान्छ, उनीहरूले सांकेतिक प्रतिनिधित्व होइन, साँचो अर्थमा प्रतिनिधित्व गर्नु।
मधेसी मतको अपेक्षा राख्दे मधेस आउनेहरूले यी जिम्मेवारी पूरा गर्छन् कि गर्दैनन् भन्ने पक्कै हेरिनेछ।