रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेकी कार्भिका थापाले उम्मेदवारी फिर्ता गरेकी छन्।
अमेरिकाको ग्रीन कार्ड लिएकी थापाले शुक्रबार उम्मेदवारी फिर्ता लिएकी हुन्।
थापा राप्रपा नेता एवं पूर्व कानुनमन्त्री निरन्जन थापाको छोरी हुन्। उनी अमेरिका जाने आउने गर्दै आएकी थिइन्। अहिले पनि केही दिनभित्रै उनी अमेरिका जाने तयारीमा थिइन्।
थापाले शुक्रबार विज्ञप्ति निकाल्दै उम्मेदवारी फिर्ता लिएको बताएकी छन्।
'तपाईंहरूलाई थाहै छ, म विगत १४ वर्षदेखि बाहिर शिक्षा अध्ययन तथा सीप आर्जन गर्ने क्रममा रहेँ। त्यसपछि विगत ८ वर्षदेखि नेपालमै फर्किएर त्यही सीप प्रयोग गर्दै काम गर्ने अवसर पाएकी छु। युवाहरू विदेश जान बाध्य नहून्, राष्ट्रमै बसेर देश सेवा गर्न सकिन्छ भन्ने स्पष्ट सोच र योजनासहित मैले यो उम्मेदवारी दिएको थिएँ,' उनले अगाडि लेखेकी छन्, 'अध्ययनको सिलसिलामा लिएको स्थायी आवास अनुमति पत्र, उम्मेदवारी दर्ता गरेपछि परित्याग गरे पनि हुने भन्ने मेरो बुझाइ थियो। आजको दिनसम्म मैले कुनै पनि अन्य देशको नागरिकता वा राहदानी लिएकी छैन। आजको मितिसम्म मेरो नेपाली राहदानी मात्र छ। तर पछि मलाई नेपालको संविधानको धारा २९१ अनुसार कार्ड परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने व्यवस्था रहेको जानकारी भयो। देशको संविधानलाई स्वीकार गर्नु हामी सबैको कर्तव्य हो भन्ने निष्कर्षमा पुगेकी छ।'
थापाले कुनै विरोध र उजुरी नपरेको भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेकाले, संविधानको मर्म र भावनाअनुसार ठूलो मन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको उनले उल्लेख गरेकी छन्।
उम्मेदवारी फिर्ताले आफ्नो सेवा भाव अन्त्य नगर्ने र राजनीतिभित्र वा बाहिर रहेर पनि, प्रविधि, उद्यमशीलता, युवा र महिलाको सशक्तीकरण तथा सुशासनका लागि निरन्तर काम गर्दै सही समय र स्पष्ट कानुनी आधारका साथ फेरि जनता सामु उभिने उनले बताएकी छन्।