प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा–२ मा उम्मेदवार बनेका बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन्।
उनले मंगलबार उम्मेदवार फिर्ता लिएका हुन्।
त्यहाँबाट रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी र नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपाने उम्मेदवार छन्।
गोरखा–२ बाट चौथोपटक उम्मेदवार बनेका भट्टराईले उम्मेदवारी फिर्ता लिएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।
गोरखा–२ का निर्वाचन अधिकृत मोहन बेलवासेका अनुसार डा. भट्टराईले प्रतिनिधि नारायण खत्रीमार्फत् उम्मेदवार फिर्ताका लागि निवेदन दिएका छन्।
यसअघि रास्वपा सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।
महामन्त्री बुर्लाकोटीका अनुसार सभापति लामिछानेले फोन गरेर भट्टराईलाई आग्रह गरेका थिए। त्यसो त भट्टराईलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।
तर उनले कसलाई समर्थन गर्ने भनेर खुलाएका छैनन्। रास्वपाका एक नेताले भने रास्वपालाई समर्थन गर्ने गरी भट्टराईले फिर्ता लिएको बताए।
‘भट्टराई परिवर्तनको आवाज हो। उहाँ सधैं परिवर्तनकै पक्षमा दृढतापूर्वक उभिँदै आउनुभएको छ। मुलुक परिवर्तनको सङ्घारमा भएका बेला भट्टराईलाई यसपटक हामीलाई सघाउँदै उम्मेदवारी फिर्ता लिन सभापतिज्यूले व्यक्तिगत र संस्थागतरूपम पनि आग्रह गर्नुभएको थियो,’ महामन्त्री बुर्लाकोटीले सेतोपाटीसँग भने।
बुर्लाकोटी त्यस क्षेत्रबाट दोस्रोपटक उम्मेदवार छन्। अघिल्लोपटक बुर्लाकोटी तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पराजित भएका थिए। डा. भट्टराईले अघिल्लोपटक त्यस क्षेत्रमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेका थिए।
रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले पनि सामाजिक सञ्जालमार्फत् डा भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।
‘पुराना दलहरूले राजनीतिक–सामाजिक सशक्तिकरणका लागि व्यवस्था परिवर्तनकै संघर्षबाट जे जति उपलब्धि हासिल गरे तिनको सारभूत संरक्षण गर्दै आगामी २१औं शताब्दीमा आर्थिक समुन्नतिको बाटो भने नयाँ र वैकल्पिक राजनीतिक दल र अभियानहरूबाट मात्र सफल हुन्छ भन्ने निष्कर्ष सहित नयाँ शक्तिको कल्पना डा. बाबुराम भट्टराईले गर्नुभएको हो। तत्पश्चात् उन्नत बन्दै आएको वैकल्पिक राजनीतिक जगमा आज राष्ट्रिय स्वतन्त्र पार्टीको उदय, विस्तार र उचाइ सम्भव हुन सकेको सर्वविदितै छ। पूर्व प्रधानमन्त्रीका रूपमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्गनिर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निभाउन सक्नुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भनेका थिए।

फागुन २१ पछि रास्वपाकै नेतृत्व वा सहभागितामा बन्न सक्ने संघीय सरकारको राजनीतिक–प्रशासनिक एवं सुशासन र विकाससँग सम्बन्धित संक्रमणकालीन व्यवस्थापनमा उनको अनुभवबाट सिक्दै रास्वपाले धेरै गर्नुपर्ने वाग्लेले बताएका छन्।
वाग्लेले अगाडि लेखेका थिए, ‘त्यसैले फागुन २१ को आसन्न निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिई आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सघाइ अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्नहुन विनम्र अनुरोध गर्दछौं।’