नेकपा एमालेले सुरूमा सर्लाही क्षेत्र नं ४ का लागि रविसिंह कुशवाहालाई उम्मेदवार तय गरेको थियो। सचिवालय बैठकले निर्णय गरेर नै कुशवाहा उम्मेदवार भएका थिए।
तर अन्तिम समयमा कुशवाहाको सट्टा २७ वर्षीय अमनिसकुमार यादवलाई उम्मेदवार बनायो। जसले त्यहाँको चुनावी प्रतिस्पर्धा रोचक र झन् प्रतिस्पर्धात्मक देखिएको छ।
त्यहाँको चुनावी प्रतिस्पर्धा यसकारण पनि चाख लाग्दो बनेको छ कि, अमनिसका बुवा पूर्व सांसद शिवपुजन राय माघ ५ गते मात्र एमाले प्रवेश गरेका थिए।
शिवपुजनकै कारण अमनिसले एमालेको टिकट पाएका हुन्।
सुरूमा कांग्रेस सभापति गगन थापा काठमाडौं-४ बाट लड्ने चर्चा थियो। त्यो उनको जित्दै आएको क्षेत्र हो।
काठमाडौं–४ बाट गगनले तीन पटक लगालग चुनाव जितिसकेका छन्।
यसपटक क्षेत्र फेर्न सक्ने चर्चा त थियो तर सर्लाही ४ बाट निर्वाचन लड्ने भनेर टुंगो भएको थिएन। त्यही भएर नेकपा एमालेका सचिव राजन भट्टराईले उमेदवारी पनि दिएका थिएनन्। काठमाडौं क्षेत्र नं ४ एमालेले खाली राखेको थियो। जब कांग्रेस सभापति थापा सर्लाही जाने भए तब भट्टराईले उमेदवारी दिए अनि एमालेले सर्लाहीमा पनि उमेदवार परिवर्तन गर्यो।
जनमत भएका र लोकप्रिय व्यक्ति छान्ने क्रममा अमनिसलाई उमेदवार बनाइएको एमाले नेता एवम् सर्लाही क्षेत्र नं ३ का उमेदवार हरि उप्रेतीले सेतोपाटीलाई बताए।
‘उहाँहरू पनि एमालेमा आउन खोज्नुभएको थियो। हामीलाई पनि जनमत बलियो भएको व्यक्ति चाहिएको थियो। यसमा अरू धेरै कुरा गर्न जरूरी छ भन्ने लाग्दैन,’ उनले भने
अमनिसका बुवा शिवपुजन २०७४ सालदेखि माओवादीमा सक्रिय थिए। उनले छोराका लागि सर्लाही–४ मा टिकट मागेका थिए। तर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रगनिस राय यादवलाई उमेदवार बनाएपछि शिवपुजन एमाले प्रवेश गरेका हुन्।
यसअघि २०७९ मा शिवपुजनकी छोरी मधुमाला कुमारी यादव स्वतन्त्र उमेदवार बनेकी थिइन्। तत्कालीन कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसले यो क्षेत्र पाएपछि शिवपुजनले आफ्नी छोरीलाई उमेदवार बनाएका हुन्। त्यो बेला मधुमालाले १४ हजार भन्दा धेरै भोट ल्याएकी थिइन्।
शिवपुजनको परिवार नै राजनीतिमा सक्रिय छ।
शिवपुजनकी श्रीमती मीना यादव २०७९ मा समानुपातिक तर्फ माओवादी सांसद समेत बनेकी थिइन्।
२०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनको तर्फबाट माओवादी उमेदवार बनेका शिवपुजनको उमेदवारी खारेज भएको थियो। २०६४ मा तत्कालीन सर्लाही क्षेत्र नं ६ बाट मधेशी जनअधिकार फोरमको तर्फबाट निर्वाचन जितेका राय रातो पासपोर्ट प्रकरणमा दोषी ठहरिएका व्यक्ति भएकाले उनको उमेदवारी खारेज भएको हो। आफू सांसद बन्न नमिल्ने भएपछि उनले परिवारका अन्य सदस्यलाई सांसद र सांसदको उमेदवार बनाउँदै आएका छन्।
२०६४ को संविधान सभा निर्वाचनमा कांग्रेसका अमेरशकुमार सिंह र कांग्रेस छोडेर तराई मधेस लोकतान्त्रिक पार्टीबाट उमेदवार बनेका महन्थ ठाकुरलाई हराएका थिए।
२०७० सालमा भने शिवपुजन तत्कालीन तराई मधेस सदभावना पार्टीका तर्फबाट उमेदवार बनेर पराजित भएका थिए।
शिवपुजन माओवादीमा प्रवेश गरेसँगै सर्लाही–४ उसको पकड पनि बलियो भएको बताइन्छ। शिवपुजनकै प्रभावका कारण माओवादीले बलारा नगरपालिका र रामनगर गाँउपालिका जितेको थियो। रामनगरमा त शिवपुजनकै अर्का छोरा राजाबाबु यादवले अध्यक्ष जितेका हुन्।
२०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरममा लाग्नुभन्दाअघि उनी राजनीतिमा सक्रिय थिएनन्। तर स्थानीय स्कुल व्यवस्थापन लगायतमा भने सक्रिय थिए।
पार्टीको संगठन र शिवपुजनको लोकप्रियताका कारण आफ्नो उमेदवार बलियो स्थितिमा रहेको एमालेको दावी छ।
सर्लाही ४ मा पर्ने ५१ वडा मध्ये २०७९ मा एमालेले १० वटा वडा जितेको थियो। एमालेका वडा अध्यक्षका उमेदवारहरुले पाएको मत ११ हजार ४ सय ७९ थियो। उसले समानुपातिक तर्फ ९ हजार ४ सय ७१ मत ल्याएको थियो। प्रत्यक्षमा भने उसले जनता समाजवादी पार्टी नेपालका उमेदवारलाई समर्थन गरेको थियो। जनता समाजवादी पार्टीका उम्मेदवार राकेश मिश्रले ५ हजार ८ सय १३ मत मात्र पाएका थिए।