अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सलाई अन्तरिक्षमा रहेका उपग्रह तथा अन्य वस्तुबीच सम्भावित ठक्कर पहिचान गर्न प्रयोग हुने संवेदनशील सैन्य तथ्यांकमा पहुँच दिएको छ।
यससँगै अमेरिकी सरकारले पृथ्वीको कक्षमा हुने अन्तरिक्ष गतिविधिको नियन्त्रण समेत मस्कको कम्पनीलाई सुम्पिन खोजेको हो कि भन्ने प्रश्न उठेको भनेर बेलायती पत्रिका द गार्डियनले लेखेको छ।
अमेरिकी अन्तरिक्ष बजारमा स्पेसएक्सको प्रभाव विस्तार भइरहेका बेला सेनाले दिएको यो पहुँचले कम्पनीलाई प्रतिस्पर्धीभन्दा थप शक्तिशाली बनाउने र राष्ट्रिय सुरक्षा सम्बन्धी जोखिम निम्त्याउन सक्ने भन्दै अन्तरिक्ष उद्योगका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
अमेरिकी अन्तरिक्ष सेनाले स्पेसएक्ससँग गरेको सम्झौता अनुसार कम्पनीले अन्तरिक्षमा रहेका वस्तुको अवस्थिति र तिनबीच हुन सक्ने ठक्करको सम्भावना आकलन गर्न प्रयोग हुने धेरै सटिक सैन्य तथ्यांकमा पहुँच पाउनेछ। अमेरिकी सेनाले पहिलोपटक कुनै व्यवसायिक कम्पनीलाई आफ्नो ‘हाइ एक्युरेसी क्याटलग’ को सबैभन्दा विस्तृत र सुरक्षित संस्करणमा यस्तो विस्तारित पहुँच दिएको द गार्डियनले जनाएको छ।
यो निर्णय ट्रम्प सरकारले अन्तरिक्ष यातायात व्यवस्थापन सम्बन्धी सरकारी कार्यक्रमलाई कमजोर बनाउँदै लगेको समयमा आएको हो।
सन् २०२५ मा मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डोज) ले अन्तरिक्षमा हुने गतिविधिको व्यवस्थापन गर्ने सरकारी कार्यक्रम ‘ट्राफिक कोअर्डिनेसन सिस्टम फर स्पेस’ (ट्र्याक्स) का थुप्रै कर्मचारी हटाएको थियो। त्यसपछि प्रशासनले उक्त कार्यक्रमको बजेट कटौती गर्ने प्रयास दुईपटक गरिसकेको छ।
सन् २०२६ को आर्थिक वर्षमा ६ करोड ५० लाख डलरको बजेट रहेको ट्र्याक्सलाई लगभग बजेटविहीन बनाउने सरकारको प्रस्तावलाई अमेरिकी संसद्ले उल्ट्याएको थियो। आर्थिक वर्ष २०२७ मा पनि बजेट लगभग शून्यमा झार्ने प्रस्ताव आएपछि प्रतिनिधि सभाले फेरि रकम समावेश गरेको छ।
अन्तरिक्ष उद्योगका कतिपय व्यक्तिले ट्र्याक्सलाई सबै कम्पनीले समान अवसर पाउने व्यवस्था कायम गर्ने माध्यमका रूपमा हेरेका छन्। तर सरकारी कार्यक्रम कमजोर पारेर स्पेसएक्सलाई अगाडि बढाउन खोजिएको उनीहरूको आशंका छ।
ट्र्याक्सका पूर्वकर्मचारी तथा ‘स्ट्यान्ड अप फर साइन्स’ संस्थासँग आबद्ध कोल डोनोभानका अनुसार यसले अमेरिकामा अन्तरिक्ष ट्राफिक व्यवस्थापनका लागि स्पेसएक्सलाई व्यवहारतः एकाधिकार प्राप्त संस्थाका रूपमा स्थापित गर्न सक्छ।
उनले यस्तो अवस्थालाई सडकका सबै ट्राफिक बत्ती एउटा ट्रक कम्पनीको नियन्त्रणमा दिएजस्तै भएको बताए। प्रतिस्पर्धीको पालोमा बत्ती रातो पारेर उसलाई अघि बढ्न नदिने अधिकार उसैसँग हुने उनको तर्क छ।
सैन्य तथ्यांक किन महत्त्वपूर्ण?
अमेरिकी सेनाले उपलब्ध गराएको तथ्यांकमा भू–आधारित राडार, टेलिस्कोप तथा अन्य सैन्य उपकरणबाट संकलित विवरण समावेश छन्। यसले करिब १० सेन्टिमिटर आकारसम्मका अन्तरिक्ष वस्तुको गति र अवस्थिति पहिचान गर्न सहयोग गर्छ। सैन्य प्रयोजनका अतिरिक्त यस्ता तथ्यांक व्यावसायिक उपग्रहबीच ठक्कर हुन नदिन पनि प्रयोग गरिन्छ।
स्पेसएक्सले आफ्नै ‘स्टारगेज’ प्रणाली मार्फत अन्तरिक्षका वस्तु निगरानी गर्दै आएको छ। स्टारलिंकका उपग्रहमा जडित हजारौँ क्यामेरा र राडारमा आधारित यो प्रणालीले करिब आधा मिटर आकारका वस्तु पहिचान गर्न सक्छ। सैन्य तथ्यांकको पहुँचले यसको क्षमता थप बढाउनेछ।
यसको बदलामा अमेरिकी सरकारले पनि स्टारगेजका क्यामेरा तथा सेन्सरबाट प्राप्त तथ्यांकमा पहुँच पाउनेछ। तर सैन्य तथ्यांकले अमेरिकी रक्षा प्रणालीको क्षमता सम्बन्धी संवेदनशील जानकारी खुलाउन सक्ने भएकाले यसको प्रयोग र सुरक्षाबारे प्रश्न उठेका छन्।
स्पेसएक्सको स्टारलिंकसँग अहिले पृथ्वीको तल्लो कक्षमा करिब ११ हजार उपग्रह छन्। आगामी वर्षहरूमा यो संख्या २० हजार पुग्न सक्ने अनुमान छ। आगामी दशकमा अमेरिकी व्यावसायिक अन्तरिक्ष बजारको आकार झन्डै २० खर्ब डलर पुग्ने अपेक्षाबीच यस्तो पहुँचले मस्कको व्यावसायिक प्रभाव अझ विस्तार गर्न सक्छ।
यद्यपि, अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) का एक पूर्वअधिकारीले अन्तरिक्ष सुरक्षाका विषयमा स्पेसएक्सले उल्लेखनीय जिम्मेवारी देखाएको बताएका छन्। उनका अनुसार समस्या कम्पनीले सरकारी कमजोरीको ठाउँ लिन खोज्नुमा भन्दा पनि सरकारले सबै अन्तरिक्ष सञ्चालकलाई समान अवसर, पारदर्शिता र स्पष्ट नियम प्रदान गर्ने जिम्मेवारी पूरा गर्न नसक्नुमा छ।
सरकारी जवाफदेहिता सम्बन्धी संस्था पब्लिक सिटिजनका क्रेग होलम्यानले भने मस्कलाई सरकारी ठेक्का र व्यावसायिक अवसर उपलब्ध गराइनु स्वार्थको द्वन्द्वको अर्को उदाहरण भएको बताएका छन्।
अन्तरिक्षमा बढ्दो व्यावसायिक गतिविधिसँगै यसको सुरक्षा र व्यवस्थापन कसको नियन्त्रणमा रहने भन्ने प्रश्न अब प्राविधिक विषयमा मात्र सीमित छैन। यो सरकारी जवाफदेहिता, निष्पक्ष प्रतिस्पर्धा र राजनीतिक पहुँचले व्यावसायिक अवसर निर्धारण गर्न पाउने कि नपाउने भन्ने बहससँग पनि जोडिएको छ
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)