नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार चुनावभन्दा दुई–तीन महिनाअघि नै टुंगो लगाइने बताएका छन्।
स्याङ्जामा आज आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले पहिलेजस्तो गरी अब टिकट वितरण नहुने बताए। पार्टीका सदस्यहरूले डिजिटल मतदान गरी उम्मेदवार तय गर्ने व्यवस्था विधानमा समावेश गरिएको र अब त्यसलाई व्यवहारमा लागू गरिने उनको भनाइ छ।
उनले यसको व्यवहारिक कार्यान्वयन स्थानीय तहका उम्मेदवार चयनबाट हुने बताए।
सुरूमा उम्मेदवारको प्रारम्भिक सूची तयार पारिने र त्यसपछि विभिन्न तहमा छलफल गरेर अन्तिम उम्मेदवार तय गरिने सभापति थापा बताउँछन्।
साथै उनले पार्टीका क्रियाशील सदस्यको अद्यावधिक प्रक्रिया एक महिनाभित्रै सम्पन्न गरिने बताए। १५ औं महाधिवेशनको मुखमा क्रियाशील सदस्यता अद्यावधिक नगरेकालाई पनि अधिवेशनमा भाग लिन दिइएको थियो। उनीहरूको क्रियाशील अद्यावधिक छिट्टै गरिने पनि उनको भनाइ छ।
उनले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्ने गरी पार्टी अघि बढ्ने बताएका छन्।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ कात्तिक १२ गते हुने र त्यसपछि बस्ने केन्द्रीय समिति बैठकबाट जागरणसहित विभिन्न अभियानहरू सञ्चालन गरिने सभापति थापाको भनाइ छ।