बाँकेमा धारिलो हतियार प्रहार गरी आफ्नै प्रेमिकाको वीभत्स हत्या गरेको आरोपमा प्रेमी पक्राउ परेका छन्।
एक महिनाअघि जिल्लाको डुडुवा गाउँपालिका–३ बनकट्टीकी २१ वर्षीया बसन्ती गोडियाको शव पुरानो र प्रयोगविहीन इनारभित्र फेला परेको थियो।
बसन्तीको हत्या सोही गाउँका २५ वर्षीय राकेश बर्माले गरेको अनुसन्धानबाट खुलेपछि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार प्रहरी हिरासतमा रहेका राकेशले घटना स्वीकार गरिसकेका छन्।
अनुसन्धानबाट बसन्तीको हत्या पुस १ गते भएको खुल्न आएको छ। सडेगलेको अवस्थामा माघ १ गते भेटिएको शव प्रहरीले इनारबाट निकालेर पोस्टमर्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पुर्याएको थियो।
पोस्टमर्टम रिपोर्टले बसन्तीको टाउको र घाँटीमा धारिलो हतियार प्रहारबाट हत्या भएको रिपोर्ट सार्वजनिक भएपछि घटना अनुसन्धानमा जिल्ला प्रहरी प्रमुख एसपी अङ्गुर जिसी आफैँ पनि खटिएका थिए।
शव सडेगलेको अवस्थामा फेला परेको हुँदा सुरूमा हत्या गरिएकी युवतीको पहिचान गर्न प्रहरीलाई समय लागेको थियो।
स्थानीयले प्रहरीसमक्ष गाउँकी कुनै पनि युवती वा महिला हराएको भन्ने जानकारीसम्म दिन सकेका थिएनन्। तर, गाउँकै बसन्ती महिना दिनअघि भारतको नानपारास्थित मामा घरमा गएको हुँदा गाउँमा नरहेको कुरा स्थानीयले गरेका थिए। त्यसपछि प्रहरीले नानपारामा बस्ने बसन्तीका मामा रामजेश गोडियासँग सम्पर्क गर्दा उनी त्यहाँ नपुगेको भन्ने तथ्य पत्ता लगाएको थियो।
त्यो सूचनाका आधारमा परिवारका सदस्यले बसन्तीका कपडा र गहनाबाट शवको पहिचान गरेका थिए। बसन्तीले मोबाइल प्रयोग गर्ने भए पनि त्यसमा लाग्ने सिमकार्ड प्रयोग गर्थिनन् भन्ने परिवारजनले प्रहरीलाई बताएका थिए।
तर, घटना अनुसन्धानबाट बसन्तीले मोबाइलमा सिमकार्ड पनि प्रयोग गर्ने गरेको तथ्य प्रहरीले पत्ता लगाएको थियो। प्राविधिक विश्लेषणका आधारमा बसन्ती पुस १ गते मंगलबार रातिदेखि सम्पर्कविहीन बनेको तथ्य पत्ता लागेको थियो।
परिवारजनले पनि मंगलबारदेखि नै बसन्ती घरमा नरहेको बताएका थिए।
स्थानीयसँगको सोधपुछ र प्राविधिक तथ्य विश्लेषण गर्दा बसन्ती र गाउँकै राकेशका बीचमा प्रेम सम्बन्ध रहेको तथ्य पत्ता लागेको थियो। त्यो तथ्यका आधारमा प्रहरीले राकेशको सुक्ष्म निगरानी र अनुसन्धान थालेको बतायो। घटना विश्लेषणका आधारमा राकेशलाई प्रहरीले माघ ११ गते पक्राउ गरेको थियो।
डीएसपी पातलीका अनुसार राकेशले प्रहरीसमक्ष प्रेममा उत्पन्न खटपटका कारण आफूले नै बसन्तीको धारिलो हतियार प्रहार गरी हत्या गरी फस्ने डरले प्रयोगविहीन पुरानो इनारमा शव फालेको स्वीकार गरेका थिए।
राकेश र हत्या गरिएकी बसन्ती दुवै अविवाहित हुन्। उनीहरूका बीचमा प्रेम सम्बन्ध चल्दै आएको कुरा प्रहरी अनुसन्धानबाट खुलेको छ। जिल्ला अदालत बाँकेले राकेशलाई ज्यानसम्बन्धी कसुरमा घटना अनुसन्धान गर्न सोमबार सात दिनको म्याद दिएको छ।