धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ।
नाति, नातिनाको पढाइ, आफ्नो रोजगारी र सहज स्वास्थ्य सेवाका लागि पोखरामा बस्दै आएका छन्त्याल चाडपर्व मनाउन, आफन्तको बिहेवारी, किरिया, छेवार र चुनावमा मात्र जन्मथलो फर्कन्छन्।
'गुणस्तरीय स्वास्थ्य र शिक्षाका साथै सुविधाका लागि बजारमा बस्नुपरेको हो,' उनले भने, 'गाउँमा विकासका पूर्वाधार र सुविधाका साथै रोजगारी र आयआर्जनको अवसर भएमा बजारमा बस्नुपर्ने थिएन।'
अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका भीम पुन पनि विदेशमा रहेका सन्तानका छोराछोरी पढाउन पोखरामा बस्न थालेको ८ वर्ष भयो।
'गाउँमा खेतीयोग्य जमिन बाँझै छ, विद्यार्थी नभएर स्कुल रित्तिने अवस्था छ, छोराछोरी कमाउन विदेश गएका छन्, बुढेसकालमा नातिनातिना पढाउन बजारमा बस्नुपरेको छ,' उनले भने, 'गाउँमै बस्ने वातावरण भैदिए सजिलो हुन्थ्यो।'
पोखरामा मतमाग्न पोखरा पुगेका म्याग्दीमा आसन्न चुनावका उम्मेदवारहरूसँग मतदाताले छन्त्याल र पुनले जस्तै बसाइँसराइ रोक्नका लागि गाउँमै बस्ने वातावरण बनाउने नीति र योजनाको माग गरेका छन्।
पोखरामा अस्थायी बसोबास गर्नुहुने धवलागिरि गाउँपालिका–७ धारापानीका झलक थापाले गाउँमा आयआर्जन, रोजगारीको अवसर, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुविधाको व्यवस्था मिलाउन आग्रह गरे।
मतदाता खोज्दै उम्मेदवारहरू पोखरामा
विस २०७९ सम्मको निर्वाचनमा चुनाव प्रचार जिल्लाभित्र सीमित थियो। यसपालि चिसोका कारण लेकाली क्षेत्रका मतदाता पनि बजार तथा बेँसीमा झरेका, अध्ययन, व्यापार, व्यवसायको सिलसिलामा बजारमा अस्थायी बसोबास गर्ने मतदातालाई पनि उम्मेदवारले महत्व दिएका छन्।
नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठले शनिबार र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले शुक्रबार पोखरामा पुगेर मतदातासँग भेटघाट गरे। नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) र स्वतन्त्र उम्मेदवार डा महावीर पुन पनि मतदाता भेटघाटका लागि समय मिलाएर पोखरा जाने तयारीमा छन्।
एमाले र नेपाली कम्युनिष्ट पार्टीसम्बद्ध म्याग्दी–पोखरा सम्पर्क समाजले उम्मेदवारसँग पोखरामा बसोबास गर्ने म्याग्देलीहरूसँग भेटघाट कार्यक्रम आयोजना गरेका हुन्।
गाउँमा मतदाता नामावली भएका तर शिक्षा, व्यापार व्यवसाय र अन्य कामको सिलसिलामा स्थायी रूपमा पोखरामा बसोबास गर्ने म्याग्देलीलाई भेटेर उनीहरूका सुझाव, अपेक्षा, गुनासा सुन्न पोखरा पुगेको एमालेका श्रेष्ठ र नेकपाका थापाले बताए ।
बढ्दो बसाइँसराइको असर मतदाता संख्यामा
बढ्दो बसाइँसराइको असर म्याग्दीको कुल जनसंख्या र मतदाता संख्यामा पनि देखिन थालेको छ। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता संख्या कायम भएको छ।
बयालीस हजार ३३२ पुरुष, ४४ हजार ६४ महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले अघिल्लो निर्वाचनको तुलनामा आगामी चुनावका लागि २७७ जनामात्र मतदाता थपिएका हुन्।
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता थिए। बसाइँसराइ गरेर जिल्ला तथा देशबाहिर जाने र घट्दो जन्मदरको असर मतदाता संख्यामा परेको निर्वाचन अधिकारी गौतमले बताए।
६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा आगामी निर्वाचनका लागि ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र कायम भएको छ।
बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ।
आव २०८१/०८२ मा म्याग्दीका स्थानीय तहहरूमा ८९ परिवार बसाइँसराइ गरेर आउँदा २४७ परिवारले थातथलो छाडेर अन्यत्र गएका छन्।
आव २०८०/८१ मा २५२ परिवार बसाइँसराइ गरेर जाँदा आउने परिवारको संख्या एक सय भएको स्थानीय तहको पञ्चीकरण शाखाको अभिलेखमा उल्लेख छ।
म्याग्दी बहुमुखी क्याम्पसको समाजशास्त्र विषयका प्राध्यापक गोरखबहादुर जिसीले गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा र पर्वत जिल्लाको बसाइँसराइ उल्टो रहेको बताए।
'गाउँगाउँमा पुगेको सडक, विद्युत्, खानेपानी, सञ्चार सुविधाले मानिसलाई रोक्न सकेको छैन,' उनले भने, 'रोजगारी र आयआर्जनको अवसरको खोजीमा गाउँबाट सहर र सुविधा भएको ठाउँमा मानिसले बसाइँसराइ गर्ने क्रम बढेको हो।'
विसं २०७८ मा भएको जनगणनाको नतिजाअनुसार म्याग्दीको २५ हजार ३७४ घरपरिवामा २९ हजार २४२ परिवारका एक लाख सात हजार ३७२ जनसंख्याको बसोबास छ। विसं २०६८ मा म्याग्दीको कुल जनसंख्या एक लाख १३ हजार ६४१ जना थियो।
उम्मेदवारका योजना
नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा महावीर पुन मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
स्वतन्त्र उम्मेदवार पुनलाई रास्वपाका उम्मेदवार युवराज रोकाले सर्मथन गर्नुभएको छ । नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपा (माओवादी)ले क्षेत्रबहादुर घिमिरे (ध्रुव)लाई उम्मेदवार बनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मङ्गोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उम्मेदवार बनेका छन्।
उम्मेदवारहरूले नीति निर्माण तहमा म्याग्दीको आवाज उठाउने, कानुनमा जिल्लावासीको भावना तथा समस्यालाई सम्बोधन गर्ने, सरकारका योजना तथा बजेटमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने, पर्यटन र कृषिमार्फत रोजगारी सृजना गरी बसाइँसराइको दर घटाउने तथा जलविद्युत्मा लगानीको वातावरण बनाउने मुद्दालाई जोड दिएका छन्।