कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सरोकारवालाहरूलाई अपिल गरेका छन्।
१० औं निर्वाचन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले स्वच्छ र निष्पक्ष निर्वाचनमार्फत लोकतन्त्र सुदृढ बनाउनुपर्ने र त्यसमा सहभागी हुने वातावरण बनाउन सम्पूर्णलाई अपिल गरेका हुन्।
'राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाध रूपमा प्रचारप्रसार गर्न तथा निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवम् आम मतदाताहरूलाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न म सरोकारवाला सबैसँग हार्दिक अपिल गर्दछु,' उनले भनेका छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आउन १४ दिन मात्रै बाँकी रहेको र फागुन २१ को निर्वाचनले विद्रोहपछिको असहज अवस्थालाई संवैधानिक मार्गमा ल्याउने विश्वास व्यक्त गरे।
उनले भण्डारीले आयोगको मूल मन्त्र 'स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचन: शान्ति, स्थिरता, समृद्धि र सुशासन' लाई व्यवहारमा उतार्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।
उनले लोकतान्त्रिक शासन व्यवस्थालाई जीवन्त र जनउत्तरदायी बनाउन आवधिक निर्वाचन अनिवार्य प्रक्रिया भएको उल्लेख गर्दै जनताको मताधिकार नै वैध सरकारको आधार भएको स्पष्ट पारे।
'विश्वसनीय निर्वाचनबाट नियमित रूपमा जनप्रतिनिधि चयन हुनु नै लोकतन्त्रको स्थायित्वको आधार हो,' सन्देशमा उल्लेख छ।
भण्डारीले निर्वाचनमा दल र उम्मेदवारहरूले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन्।
साथै सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई कानूनबमोजिम निर्वाचन प्रक्रियामा निर्वाध सहभागी हुने अधिकार सुरक्षित रहेको उल्लेख गर्दै कुनै पनि प्रकारको अवरोध अस्वीकार्य हुने बताएका छन्।