नयाँ सरकारबारे के भन्छन् सहिद परिवार?
जेनजी आन्दोलनको बलमा भएको प्रतिनिधिसभा निर्वाचनले बालेन शाहको नेतृत्वमा सरकार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्ट 'म्यान्डेट' दिएको छ। यो सरकारबाट सारा देशले परिवर्तनको अपेक्षा गरेको छ। सबभन्दा बढी अपेक्षा ती परिवारको छ, जसका छोराछोरी जेनजी आन्दोलनमा सहिद भए।
यसै सन्दर्भमा हामीले जेनजी आन्दोलनका सहिद परिवारसँग निर्वाचन परिणामबारे उनीहरूको धारणा के छ र नयाँ बन्ने सरकारप्रति उनीहरूले के आशा लिएका छन् भनेर सोधेका छौं।
***
२२ वर्षीय विमलबाबु भट्टको मृत्यु भदौ २३ गते नयाँबानेश्वरमा भएको थियो। विमल लगायतका सहिदहरूको आहुतीको जगमा बन्ने अबको सरकारले देश र जनताको हितमा काम गर्ने विश्वास उनका ३२ वर्षीय दाजु अनिल भट्टलाई छ।
'भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न नसकेकै कारण पुराना नेताहरूलाई जनताले भगाएका हुन्। भदौ २३ र २४ गते देशमा के भयो भन्ने अहिलेका नयाँ नेताहरूले प्रत्यक्ष देखेका छन्, भोगेका छन्,' अनिलले भने, 'त्यस्तै नियति भोग्नु नपरोस् भन्नेमा उनीहरू सचेत हुन्छन् भन्ने मलाई लाग्छ।'
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आम जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति हदैसम्म विश्वास देखाएको र अब बन्ने सरकार त्यो विश्वासको कसीमा खरो उत्रनुपर्ने उनको भनाइ छ।
जेनजी आन्दोलनको मर्म अनुसार काम गर्छ भन्ने विश्वासकै कारण रास्वपाले यस्तो अभूतपूर्व बहुमत ल्याएको उल्लेख गर्दै अनिलले भने, 'सरकार बनेपछि रास्वपाको परीक्षाको दिन सुरू हुन्छ।'
अनिल आफै पनि विगतमा अन्य राजनीतिक पार्टीलाई समर्थन गर्थे। जेनजी आन्दोलनमा भाइको मृत्यु भएपछि पुराना दलहरूप्रति विश्वास हटेको उनी बताउँछन्।
'पुराना दलहरूले राम्रो काम गरेका भए मेरो भाइ मात्र होइन, कोही पनि युवा सडकमा आउनु पर्दैनथ्यो। युवाहरूको आवाज दबाउन गोली चलाउनु पर्दैनथ्यो। कसैको ज्यान जाँदैनथ्यो,' उनले भने, 'विगत १० वर्षमा पुराना राजनीतिक दलहरूले जनताको पैसामा व्यक्तिगत स्वार्थ पूरा गर्नेबाहेक अरू केही गरेनन्। जनताको करलाई निजी स्रोत मानेर आफ्नो सात पुस्तालाई पुग्ने पैसा जम्मा गरे। पूर्वाधार निर्माणमा आधा पनि काम नगरी रकम असुले। सरकारी कलकारखानादेखि अस्पताल र विद्यालयहरूमा समेत भ्रष्टाचारको चाङ लाग्यो। जनताको सेवा गर्न बसेकाहरूले नोट नपाएसम्म काम अघि बढाएनन्। यस्तै गतिविधिले वाक्क भएका जनताले नयाँ दललाई अभूतपूर्व बहुमतले जिताएका हुन्।'
जेनजी आन्दोलनको जगमा बन्ने अबको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने अनिल बताउँछन्।
उनका अनुसार, जेनजी आन्दोलन नभएको भए प्रतिनिधिसभा निर्वाचन २०८४ सालमै हुन्थ्यो। फेरि उही पुरानै नेता सत्तामा आउँथे। तर यो आन्दोलनले मुलुकको राजनीतिक दिशा नै बदलिदियो। जनताले पुराना नेताहरूलाई पाखा लगाए। पैसा र पावरमा राजनीति गर्नेहरूलाई चुनावमा हराए। तिनको सट्टा नयाँ अनुहार छाने।
'यी नयाँ अनुहारबाट जनताले धेरै आशा लिएका छन्। उनीहरूको काम मूल्यांकन गर्ने विवेक आम जनतामा जागृत भइसकेको छ,' उनले भने, 'हामी अब हाम्रा आमाबाजस्तो चुप लागेर बस्नेवाला छैनौं। अहिले शक्ति र सत्तामा आएको दलबाट पनि सोचेजस्तो भ्रष्टाचार नियन्त्रण र विकास हुन सकेन भने अर्को पटक फेरि अर्कोलाई चुन्ने चेतना जनतामा विकास भइसकेको छ।'
यति भन्दाभन्दै उनलाई अब बन्ने सरकारले पुराना दलहरूको गल्ती दोहोर्याउँदैन भन्ने लाग्छ।
'जनमत बुझेका अहिलेका प्रतिनिधिहरूले जनताको हकहितमा काम गर्छन् भन्ने मेरो विश्वास छ,' उनले अगाडि भने, 'यदि गरेनन् भने पाँच वर्षपछि अर्को दलको सरकार बन्छ।'
अनिल आफैले पनि यसपालि रास्वपालाई भोट हालेका थिए। रास्वपालाई भोट हाल्नुका पछाडि एउटै कारण बालेनको नेतृत्वमा सरकार बनाउने हो भन्ने उनको भनाइ छ।
'बालेनको नेतृत्वमा सरकार बन्यो भने देशमा सुधार आउँछ। उनले काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि धेरै राम्रो काम गरेका थिए। मेयर हुँदा त यति राम्रो काम गर्नेले प्रधानमन्त्री हुन पाए कस्तो गर्लान् भनेर हेर्न मन छ,' उनले भने।
अबको सरकारले २०४८ सालदेखि सत्तामा रहेका नेताहरूको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनी बताउँछन्।
त्यस्तै, जेनजी आन्दोलनमा गोली चलाउने र गोली चलाउन आदेश दिनेहरूलाई कारबाही गरेर सहिद र घाइतेहरूलाई न्याय दिनुपर्ने उनको भनाइ छ। उनले व्यक्तिगत रूपमा सहिद परिवारका लागि रोजगारी, शिक्षा र स्वास्थ्य सेवामा सहजीकरणको अपेक्षा पनि राखेका छन्।
यसबाहेक समग्र देशको विकास, रोजगारी सिर्जना, सुरक्षा र सरसफाइमा उल्लेखनीय काम हुन्छ भन्ने उनको विश्वास छ।
'बालेन सरकारले जनताको विश्वास टुट्न दिनुहुँदैन,' उनले भने।
यो पनि पढ्नुहोस्: