इरानले स्ट्रेट अफ हर्मुजमा ओमानतर्फको जलमार्गबाट अवरोध रहित आवतजावत गर्न दिने प्रस्ताव अघि सारेको खुलेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिका सँग वार्ताका क्रममा इरानले ओमानतर्फको जलमार्गबाट विना अवरोध तेल ट्यांकर र समुद्री जहाजहरू आवत जावत गर्न दिने प्रस्ताव राखेको हो।
वार्ताबारे जानकार एक स्रोतको हवाला दिँदै रोयटर्सले मध्यपूर्वमा जारी द्वन्द्व रोक्ने सहमति जुट त्यस्तो व्यवस्था लागू गर्न इरानले तयार हुने दिएको जनाएको हो।
सन् १९६८ मा संयुक्त राष्ट्र संघको सिपिङ एजेन्सीले तय गरेको 'ट्राफिक सेपेरेसन स्किम' अनुसार यो जलमार्ग इरान र ओमानको पानीमा विभाजित छ।
इरानले पछिल्ला हप्ताहरूमा यो अन्तर्राष्ट्रिय जलमार्ग प्रयोग गरेबापत जहाजहरूसँग 'टोल' (शुल्क) लिने र जलमार्गमा आफ्नो सार्वभौमसत्ता लागू गर्ने जस्ता विवादास्पद योजनाहरू अघि सारेको थियो।
लण्डनमा अन्तर्राष्ट्रिय समुद्री संगठन (आइएमओ) को बैठकमा सदस्य राष्ट्रहरूले इरानको यस्तो योजनाले खतरनाक नजिर बसाल्ने भन्दै विरोध गरिरहेका बेला यो नयाँ प्रस्ताव आएको भनेर रोयटर्सले लेखेको छ।
अमेरिका–इसराइल र इरानबीचको युद्धका कारण हर्मुज जलमार्गबाट हुने विश्व ऊर्जा आपूर्तिमा ठूलो अवरोध आएको छ। विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा तरल प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यसको नियन्त्रण वार्ताको केन्द्रमा रहेको छ।
इरानले ओमानतर्फको जलमार्ग प्रयोग गर्न जहाजहरूलाई अनुमति दिने विषयमा लचकता देखाएको भए पनि उक्त क्षेत्रमा सम्भावित बारुदी सुरुङ हटाउने वा इसराइलसँग सम्बन्धित जहाजहरूलाई पनि समान रूपमा अनुमति दिनेबारे भने स्पष्ट नभएको रोयटर्सले जनाएको छ।
यो प्रस्तावलाई इरानले गत साता इस्लामावादमा भएको वार्तामा अघि सारिएको कडा विकल्पहरूबाट इरान केही पछि हटेको संकेतका रूपमा हेरिएको छ।
फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि खाडी क्षेत्रमा सयौं ट्यांकर र झण्डै २० हजार नाविक अलपत्र परेका छन्।
अप्रिल ८ देखि दुई साताको युद्धविराम लागू भए पनि जलमार्गको नियन्त्रण अझै समाधान हुन बाँकी रहेकाले यो प्रमुख विषय बनेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यको नजिक पुगेको दाबी गरेका छन्। दुई देशबीच पहिलो वार्ता असफल भए पनि छिट्टै दोस्रो चरणको वार्ता सुरू हुने संकेत पनि ट्रम्पले गरेका छन्।