सिनामंगलको सुकुम्बासी बस्ती शनिबार बिहानैदेखि तनावमा छ।
शनिबार वा आइतबारभित्र सुकुम्बासी बस्ती खाली गराउने सरकारको तयारीसँगै डोजर चल्ने सूचना पाएपछि यहाँका बसोबासी अहिले आ-आफ्ना सामान सडक पेटीमा सारिरहेका छन्।
त्यसरी सामान सार्नेमध्ये एक हुन्, दीपक ढुंगाना।
उनले घरका सामग्री सडकछेउ थुपारेका छन्। शुक्रबार साँझ ७ देखि ९ बजेसम्म माइकिङ गरिएकाले रातभरि सामान निकालेको उनले बताए।
'रातभर निद्रा लागेन। पहिले पनि यस्तो अवस्था आउँथ्यो, तर अहिले झन् डर लागिरहेको छ,' उनले भने, 'रातभर प्रहरी बस्यो—निगरानी मात्र हो कि, छानबिन पनि गरेको भए हुन्थ्यो।'
ढुंगानाका अनुसार बालबालिकामा समेत त्रास फैलिएको छ। बच्चाहरू पनि 'डोजरले सबै खरानी बनाउँछ रे, बिरूवासमेत उखेल्ने रे' भन्दै छन्।
यही बस्तीमा रहेकी मेनुका गुरूङ ४५ वर्षअघि बच्चा बोकेर धरानबाट यहाँ आएकी थिइन्। श्रीमानबाट अलग भएपछि काठमाडौं आएर यहीँ ज्यामी काम गर्दै परिवार हुर्काएको उनले बताइन्।
'आँसुमा पौडी खेलेर यस्तो काम राम्रो हुँदैन,' उनले भनिन्, 'हामीलाई कहाँ जाने भन्ने केही टुंगो छैन।'
उनका नाति पनि यो ठाउँ छाडेर कहाँ जाने, कहाँ पढ्ने भन्ने अन्यौलमा छन्।
तीन सन्तानकी आमा सीता पाठक पनि उस्तै चिन्तामा छन्।
'कहाँ जाने, बच्चालाई के खुवाउने—केही थाहा छैन,' उनले भनिन्।
४६ वर्षीया मुकुना दर्जी २२ वर्षदेखि सिनामंगलमा बस्दै आएकी छन्। उनको सात जनाको परिवार छ।
'अब कहाँ जाने थाहा छैन। कोठा खोज्दा पनि पाइएन। साना–साना बच्चा छन्, के गर्ने अन्योलमा छौं,' उनले भनिन्।
त्यस्तै, ४३ वर्षीया सुमित्रा परियार २०४० सालदेखि यही क्षेत्रमा बस्दै आएकी छन्। विवाहपछि नै यहीँ बसोबास सुरू गरेको उनले बताइन्।
'अहिले सामान आफन्तकहाँ सार्दैछौं। कोठा खोज्दा पनि पाइँदैन। सरकारले केही व्यवस्था गरिदिन्छ कि भन्ने आशा छ,' उनले भनिन्।
कालिकादेवी दमाई (शर्मिला नेपाली) यहाँ बसोबास गर्न थालेको १८ वर्ष भयो।
'अरूको घरमा भाँडा माझेर जीविका चलाउँछु, श्रीमान् सिलाइको काम गर्नुहुन्छ। तीन सन्तानमध्ये दुई जनाले पढाइ छाडिसके। यहीँ बस्न दिएको भए काम गरेर खान्थ्यौं,' उनले भनिन्।
छोटो समयमै घर खाली गर्न भनिएकाले कोठा नपाएको उनको गुनासो छ।
डोजर आउने डरले उनले सामान सडकमा निकालेर राखेको बताइन्।
'जिन्दगीभर जोडेको सामान माया लागेर बाहिर निकालेर राखेकी हुँ,' उनले भनिन्।
उता ३१ वर्षीय निरन नेपाली भने बाल्यकालदेखि नै यही क्षेत्रमा बस्दै आएका छन्।
'बाढीको जोखिमका कारण पहिला पनि धेरै दुःख भोग्यौं। गत वर्ष मात्र लगानी गरेर घर बनाएका थियौं, अहिले फेरि भत्किने भयो,' उनले भने।
उनले सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्ने माग गरे।
२०४८ सालदेखि बस्दै आएकी राजकुमारी बस्नेतले भने अझै सामान सार्न सकेकी छैनन्। 'हात भाँचिएको छ, सक्दिनँ,' उनले भनिन्, 'हामीलाई कहाँ राख्छ भन्ने पनि थाहा छैन।'
डोजर चल्ने खबरसँगै बस्तीमा त्रास र अन्योल दुवै बढेको छ। स्थानीयहरू वैकल्पिक व्यवस्था बिना हटाइँदा झन् ठूलो मानवीय समस्या निम्तिने भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।