संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोज कुमार शर्माविरूद्ध उजुरी दिने उजुरीकर्ताहरूको कुरा सुन्न थालेको छ।
मंगलबार बिहान सुरू समितिको बैठकले शर्माविरूद्ध परेका १६ वटा उजुरी खोलेर उजुरीकर्ताहरूको कुरा सुन्न सुरू गरेको हो।
उजुरीकर्ताहरूले शर्माले सर्वोच्चको न्यायाधीशका रूपमा 'बेन्च फिक्सिङ' गरेकोदेखि उनी 'नेपो-बेबी' भएको र न्यायाधीश नियुक्त भएपछि नेकपा एमालेका नेताहरूको आशीर्वाद थाप्न पार्टी कार्यालय बल्खु गएको आरोपसम्म लगाइएको छ।
त्यस्तै, शर्मामाथि रिट खारेज गर्दा भ्रष्टाचार गरेको आरोप पनि छ। काठमाडौं महानगरको फोहोर व्यवस्थापन गर्न पेस भएको रिट खारेज गरी शर्माले दुई अर्ब रूपैयाँ भ्रष्टाचार गरेको आरोप उजुरीकर्ता टंकप्रसाद आचार्यले लगाएका छन्।
उनले काठमाडौं महानगरको फोहोरमैला व्यवस्थापन गर्न पेस भएको रिट खारेज गरी देशलाई वार्षिक एक खर्ब रूपैयाँ नोक्सान गराएको बताएका छन्।
आचार्यले यस विषयमा प्रमाण संकलनका लागि छानबिन समिति बनाउन माग समेत गरेका छन्।
'यस विषयका थप प्रमाणका लागि संसदीय सुनुवाइ समितिले छानबिन समिति बनाएर अध्ययन गर्न/गराउन अत्यन्त जरूरी छ,' उजुरीमा उल्लेख छ।
उनले संसदीय समितिमा शर्माको अवस्था पनि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै जस्तो भएको बताएका थिए।
आचार्यको यस्तो भनाइपछि सुनुवाइ समितिका सदस्य तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले 'न्यायाधीश बन्नलाई सुनुवाइ गरी योग्य ठहरिएर सर्वोच्च पुगेका व्यक्ति अब फेरि प्रधानन्यायाधीश बन्न किन अयोग्य?' भनेर प्रश्न राखेका थिए।
त्यसमा आचार्यले भने, 'एसएलसी पास गरेका मान्छेलाई झुक्याएर सिधै मास्टर्सको परीक्षाको मान्यता दिने कि नदिने?'
त्यसैगरी अर्का उजुरीकर्ताले पाँचवटा बुँदा उल्लेख गर्दै शर्मा प्रधानन्यायाधीश बन्न अयोग्य रहेको उल्लेख गरेका छन्।
उजुरीकर्ताले एक लेनदेन सम्बन्धी मुद्दामा शर्माले न्याय सम्पादन त्रुटि गरेको भन्दै त्यसको विस्तृत विवरण खुलाएका छन्।
त्यस्तै, एनसेल कर फिर्तामा पनि उनले सहयोगीको भूमिका खेलेको उजुरीकर्ताको आरोप छ। विगतमा न्यायाधीश नियुक्तिपछि नेकपा एमाले पार्टी कार्यालय बल्खुमा गएर नेताहरूको आशीर्वाद लिएको भन्दै यसले शर्माको सार्वजनिक व्यक्तित्वमा आँच पुगेको उजुरीमा उल्लेख छ।
शर्माले प्रधानन्यायाधीश बन्नलाई चाहिने योग्यताको मापदण्ड पूरा नगरेको, १५ वर्ष वकालत नगरेको र उच्च अदालतमा पाँच वर्ष न्यायाधीश पनि नभएको उजुरीमा छन्।
अर्को उजुरीमा शर्मामाथि 'नेपो-बेबी' भएको आरोप लगाइएको छ। उनी पूर्व प्रधानन्यायाधीश दामोदर प्रसाद शर्माको भतिजा भएको र त्यही पहुँचका आधारमा न्यायाधीश बनेको उल्लेख गर्दै 'नेपी-बेबी' को आरोप लगाइएको हो।