नेकपा एमालेले केही समययता प्रतिनिधिसभा बैठकमा लगातार रोस्ट्रम घेराउ र नाराबाजी गर्दै आएको छ।
पछिल्लो पटक प्रतिनिधिसभा नियमावली २०८३ पारित गर्ने क्रममा जेठ १७ नेकपा एमालेसहित सबै प्रतिपक्षी दलले रोस्ट्रम घेराउसँगै नाराबाजी गरेका थिए। प्रतिनिधिसभा नियमावली संसदीय समितिमा लगेर छलफल गराउनुपर्ने उनीहरूको माग थियो।
नियमावलीमा भएको संविधान संशोधनको विषय र नियमावली अन्य कानुनभन्दा माथि रहने गरी गरिएका व्यवस्थामा विपक्षी दलहरूले विरोध गर्दै आएका छन्। त्यसै क्रममा उनीहरूले रोस्ट्रम घेराउन गर्नुका साथै रोस्ट्रमसम्मै पुग्ने प्रयास गरेका थिए।
त्यस दिन प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन शाहले संसदमा 'नेपालले पनि भारतको जग्गा मिचेको' भन्ने अभिव्यक्तिको समेत चर्को आलोचना गरेका थिए। एमाले सांसद रिंगला यादव डेस्कमा चढेर सभामुखविरूद्ध चिच्याएकी थिइन्। एमालेकै ऐन महर मर्यादापालकहरूको बुइ चढेर रोस्ट्रममा पुग्ने प्रयास गरेका थिए।
नेकपा एमालेका एक सांसद भने यो सबै घटनामा कतै देखिएनन्। उनी हुन्, सुहाङ नेम्वाङ।
इलाम–२ बाट निर्वाचित सुहाङ पूर्वसभामुख सुवास नेम्वाङका छोरा हुन्। एक एमाले नेताका अनुसार नेम्वाङले स्पष्ट शब्दमा विरोधका लागि आफ्नो स्थानमा उभिने तर घेराउ र नराबाजीका लागि आफू रोस्ट्रममा नजाने बताएका छन्।
'रोस्ट्रम घेर्नु अमर्यादित कुरा हो भन्ने उहाँको धारणा छ,' ती नेताले भने, 'बजेटदेखि जनताका मुद्दामा केन्द्रित हुनुपर्ने बेला रोस्ट्रम घेराउमा समय नफालौं भन्ने धारणा उहाँले राख्दै आउनुभएको छ। उहाँ रचनात्मक प्रतिपक्षी बनौं भन्ने पक्षमा हुनुहुन्छ।'
नेम्वाङले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोस्ट्रम घेराउ गर्दा पनि आफूले विरोध गरेकाले अहिले घेराउ गर्न नजाने नीति लिएको ती सांसदले बताए।
'विगतमा रास्वपाले रोस्ट्रम घेर्नु पनि ठिक थिएन, अहिले एमालेले गर्दा पनि ठिक होइन,' नेम्वाङलाई उद्धृत गर्दै एमालेका ती नेताले भने, 'संसद सुशासनको मन्दिर हो। मन्दिर जस्तो पवित्र स्थलमा नाराबाजी गर्नु सुहाउँदो हुँदैन। जनताले रोस्ट्रम घेराउ गर भनेर निर्वाचित गरेको होइन।'
नेम्वाङसँग निकट रहेका ती नेताका अनुसार सुहाङले आफ्नो स्थानबाट उभिएर विरोध गर्ने पार्टीको शैलीमा साथ दिइरहेका छन्। तर रोस्ट्रममा गएर नाराबाजी गरेका छैनन्।
'विरोध गर्ने हो भने बसेको ठाउँमा उभिएर गरौं। रोस्ट्रम घेर्न जानु अमर्यादित हुन्छ भन्ने उहाँको कुरा छ,' ती सांसदले भने, 'प्रधानमन्त्रीले बोलेको विषय पनि घेराउ गरेर समाधान हुँदैन, रचनात्मक प्रतिपक्ष हौं भन्ने धारणा राख्नुभएको छ।'
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले भने नेम्वाङ प्रतिनिधिसभा बैठकमा सहभागी भइरहेको बताए।
'उहाँले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरिरहनुभएको छ', महरले भने, 'तर केही काम परेर होला, रोस्ट्रम घेराउमा आउनुभएको छैन।'
सेतोपाटीले हेरेको प्रतिनिधिसभा बैठकको फुटेजमा सुहाङ जेठ १८ गते आफू बसिरहेको ठाउँमै उभिएर विरोध गर्न सहभागी भएका थिए। तर जेठ १९ गते रोस्ट्रम घेराउमा सहभागी भएका थिएनन्।
नेम्वाङ एमाले संसदीय दल नेताका आकांक्षी थिए। तर समर्थक र प्रस्तावक समेत नपाउँदा उनले संसदीय दल नेताका लागि प्रतिस्पर्धा गर्न अवसर पाएनन्।
प्रतिनिधिसभाको बैठकमा नेम्वाङले विरोधको भाषाभन्दा ध्यानाकर्षण गराउने भाषा प्रयोग गर्ने गरेका छन्।
पछिल्लो चुनावी परिणामले पार्टी खुम्चिएकाले विरोधभन्दा रचनात्मक प्रतिपक्षी हुनुपर्ने धारणा नेम्वाङले सांसदहरूसँग राख्ने गरेका छन्।