राहदानी छपाइ प्रकरणमा १८ जनाविरूद्ध मुद्दा दायर हुने भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले १८ जनाविरूद्ध मुद्दा विशेष अदालतमा मुद्दा पेस गरेको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।
अख्तियारले ल्याएको मुद्दाको मिसिल अहिले विशेष अदालतले अध्ययन गरिरहेको छ।
‘मुद्दा आएको छ। अध्ययन र रूजुको काम भइरहेको छ,’ उनले भने।
उनका अनुसार राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, लेखा अधिकृत तुलसीप्रसाद आचार्य, रविन राज भण्डारी, राजाराम दाहाल, भेषप्रसाद भुर्तेल, पुष्पराज नेपाल, सोमेश थापा, विपिन प्रसाईं, शत्रुधन प्रसाद शर्मा पोखरेल लगायतविरूद्ध मुद्दा आएको हो।
दुई वटा विदेशी कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ। त्यस्तै चार जना विदेशी नागरिकलाई पनि मुद्दा चलाउन उल्लेख गरिएको छ।
नेपाली सहजकर्ता सिद्धार्थ थापा र मणिन्द्रराज मल्लविरूद्ध मुद्दा पेस भएको हो। अख्तियारले सात जनालाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित समेत गराएको छ।
असार २ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियारका पदाधिकारीहरूलाई बोलाइएको थियो।
त्यहाँ पदाधिकारीहरूलाई बोलाएर राहदानी विभागका महानिर्देशक अर्याललाई पक्राउ गरी अनुसन्धान गर्नका लागि प्रधानमन्त्रीका सचिवालय सदस्यहरूले दबाब दिएको खुलेको थियो।
त्यहीँ प्रधानमन्त्रीको कार्यालयबाटै अर्याललाई पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको थियो।
यही अनुसन्धानको शिलशिलामा असार २ गते पूर्व परराष्ट्र मन्त्री आरजू राणालाई बयानका लागि उपस्थित हुन भनेर अख्तियारले म्याद तामेलीमा राखेको थियो। उनको बुढानीलकण्ठस्थित जलेको भवन बाहिर सूचना टाँस समेत गरिएको थियो।
त्यसैगरी असार ४ गते राहदानी छपाइमा संलग्न दुई जर्मन कम्पनीलाई भौतिक वा भर्चुअल माध्यमबाट उपस्थित हुन भनेर राइजिङ नेपालमा अख्तियारले सूचना समेत जारी गरेको थियो। म्युल्बाउअर आइडी सर्भिसेस र भेरोडास कम्पनीको नाममा सूचना जारी गरिएको थियो।
अख्तियारले सूचना निकालेर उपस्थित हुन भनेकामा म्युल्बाउअर आइडी सर्भिसेसका गेरहार्द माउरेर र पाभ्ली राकिक छन् भने भेरोडोस कम्पनीका फाबियोला बेलरशेइम र फ्लोरियन पाकक्वेलिन छन्।
खरिद प्रक्रियामा प्याकेज १ अन्तर्गत म्युल्बाउअर आइडी सर्भिसेसले पासपोर्टको प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमनेट सिस्टमको ठेक्का पाएको थियो।
प्याकेज २ मा भेरोडोसले पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङ सिस्टमको ठेक्का पाएको थियो।