राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री भूपदेव शाहले प्रथम महाधिवेशनबाट कम्तीमा २० वर्षसम्म देशलाई सही दिशामा अघि बढाउन सक्ने क्षमता पार्टीमा रहेको सन्देश दिन जरूरी रहेको बताएका छन्।
मंगलबार चितवनको भरतपुरमा भएको बन्द सत्रमा बोल्दै महामन्त्री शाहले उक्त कुरा बताएका हुन्। उनले महाधिवेशनबाट दुई वटा सन्देश दिन जरूरी रहेको बताएका हुन्।
‘रास्वपा सांगठनिक रूपमा देश हाँक्न सक्षम छ र कम्तीमा २० वर्षसम्म देशलाई सही दिशामा अघि बढाउन सक्ने क्षमता छ भन्ने सन्देश दिन पर्छ,’ उनले भने।
दोस्रोमा रास्वपालाई पेनाल्टी मिस गर्ने छुट नरहेको पनि बताए। ‘पार्टी एकताबद्ध छ भन्ने सन्देश स्पष्ट रूपमा दिनपर्छ। रास्वपाले यो अवसर (पेनाल्टी) मिस गर्नुहुँदैन,’ उनले भने।
उनले अहिलेको प्रथम महाधिवेशन वैकल्पिक राजनीतिमा लाग्नेका लागि उत्सव भएको पनि उनले बताए।
‘यो वैकल्पिक राजनीतिमा लाग्ने प्रत्येक व्यक्तिका लागि उत्सब हो। यो एउटा भावनात्मक क्षण पनि हो। विगत १० वर्षदेखिका आन्दोलन र नेतृत्वलाई समेट्दै बनेको पार्टी आज एउटा सागर बनेको छ। एकल नेतृत्वको सरकार छ,’ उनले भने।
आफूहरूलाई नागरिकले विश्वास गरेर मत दिएकाले अब रास्वपाले नागरिकलाई दिने बेला आएको पनि उनले बताए।
‘हामीले मागेको हरेक कुरा र अपेक्षा नागरिकले पूरा गरेका छन्। अब दिने पालो रास्वपाको हो। दिने पालो सरकारको हो। नागरिकले आफ्नो कर्तव्य पूरा गरिसकेका छन्। अब परिणाम देखाउने जिम्मेवारी नेतृत्वको काँधमा छ,’ उनले भनेका छन्।
महामन्त्री शाहले बन्दसत्रमा राखेको मन्तव्यको पूर्णपाठ:
प्राङ्गण आफैंमा एउटा निर्जीव स्थान हो। तर त्यही प्राङ्गणलाई मान्छेले अर्थ दिन्छ, उद्देश्य दिन्छ, र इतिहास बनाइदिन्छ।
यही प्राङ्गणमा कहिले विचार बोकेका पाइलाहरू हिँड्छन्, कहिले भावनाले भरिएका पाइलाहरू दौडिन्छन्। यहीँबाट कुनै आन्दोलन जन्मिन्छ, कुनै सपनाले आकार लिन्छ, र कुनै परिवर्तनको बीउ रोपिन्छ।राष्ट्रिय स्वतन्त्र पार्टीको यात्रा पनि यही प्राङ्गणबाट सुरू भएको हो जहाँ विचार मात्र थिएन, भावना पनि थियो। आक्रोश मात्र थिएन, आशा थियो।
हामी ती सबैप्रति कृतज्ञ छौं, जसले आलोचना गरे, जसले प्रश्न उठाए, र जसले प्रतिस्पर्धाको भय देखाए। किनकि त्यही आलोचनाले हामीलाई अझ स्पष्ट बनायो, त्यही प्रतिस्पर्धाले हामीलाई अझ मजबुत बनायो, र त्यही प्रश्नहरूले हामीलाई अझ जिम्मेवार बनायो।
राजनीतिमा समर्थन मात्र होइन, चुनौती पनि आवश्यक हुन्छ। र हामीले दुवैलाई स्वीकार गर्दै आफूलाई परिष्कृत गर्दै आएका छौँ। चार वर्षअघि, हाम्रो पार्टी सभापति रवि लामिछानेको अगुवाइमा हामीले निलो झण्डा बोकेका थियौँ, साना–साना अभियानहरूलाई जोड्दै एउटा राजनीतिक दलको आधारशिला निर्माण गर्यौँ।
यहि बुझाइ र भोगाइ ले आजको यो ऐतिहासिक प्रथम महाधिवेशनमा हामीलाई एउटा महत्त्वपूर्ण कुरा पुनः सम्झाउँछ -पार्टी ठूलो हुनु मात्र पर्याप्त छैन, पार्टी जिम्मेवार हुनु जरूरी छ।
आज हाम्रो सामु दुईवटा मुख्य राष्ट्रिय कार्यभार छन्। पहिलो, लोकतन्त्र, संविधानका सिद्धान्त र त्यसका मूल्य–मान्यताहरूलाई अझ गहिरो र दिगो रूपमा संस्थागत गर्नु। दोस्रो, सुशासनलाई व्यवहारमा उतार्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नु, अर्थात् डेलिभरी दिनु।
यी दुवै कार्यभार पार्टी र सरकारको साझा प्रतिबद्धता र सहकार्यबाट पूरा हुनेछन्। तर २१औँ शताब्दीमा सुशासन र भौतिक पूर्वाधारको विस्तार मात्र पर्याप्त हुँदैन। यी मुख्य दुई कार्यभार पुरा गर्दै गर्दा हाम्रो ध्यान हरेक नागरिकको आर्थिक उन्नतितर्फ पनि उत्तिकै केन्द्रित हुनुपर्छ।
यो वैकल्पिक राजनीतिमा लाग्ने प्रत्येक व्यक्तिका लागि उत्सव हो। साथै, यो एउटा भावनात्मक क्षण पनि हो। विगत १० वर्षदेखिका आन्दोलन र नेतृत्वलाई समेट्दै बनेको पार्टी आज एउटा सागर बनेको छ। एकल नेतृत्वको सरकार छ। हामीले युवा नेतृत्व चाहिन्छ भन्यौँ, नागरिकले यसपालि हामीले भनेकै युवालाई भोट दिए। हामीले नयाँ विकल्प चाहिन्छ भन्यौँ, नागरिकले नयाँ शक्तिलाई विश्वास गरेर मत दिए। हामीले बहुमत चाहिन्छ भन्यौँ, नागरिकले बहुमत दिए। हामीले दुईतिहाइ चाहिन्छ भन्यौँ, नागरिकले त्यो पनि दिए। हामीले मागेको हरेक कुरा र अपेक्षा नागरिकले पूरा गरेका छन्। त्यसैले, अब दिने पालो रास्वपाको हो, दिने पालो सरकारको हो। नागरिकले आफ्नो कर्तव्य पूरा गरिसकेका छन्, अब परिणाम देखाउने जिम्मेवारी नेतृत्वको काँधमा छ।
यो महाधिवेशनले दुईवटा सन्देश दिन जरूरी छ। पहिलो, रास्वपा सांगठनिक रूपमा देश हाँक्न सक्षम छ र कम्तीमा २० वर्षसम्म देशलाई सही दिशामा अघि बढाउन सक्ने क्षमता छ भन्ने सन्देश। दोस्रो, पार्टी एकताबद्ध छ भन्ने सन्देश स्पष्ट रूपमा दिनुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले यो अवसर (पेनाल्टी) मिस गर्नुहुँदैन।
केहि समय अघि एक जना जेन–जी भाईले सुनाएको प्रसंग सम्झिन्छु। २३ भदौको आन्दोलनमा जाँदा एक जना युवालाई उसकै छेउमा उभिएको अर्को साथीले भनेछ– ओइ मुख छोप छोप, आन्दोलनमा गएको फोटो आयो भने त पछि भिसा दिँदैन। यो केवल एक युवाको डर होइन, अवसरको खोजीमा रहेको पुस्ताको मनोविज्ञान हो। परिवर्तनको आन्दोलनमा पनि मुख छोप्नुपर्ने, कुनै पार्टीमा लागेर योगदान गर्छु भन्दा पनि मुख छोप्नुपर्ने, कृषि गर्न मुख छोप्नुपर्ने, व्यापार गर्न पनि मुख छोप्नुपर्ने, सरकारको समर्थन गर्न पनि मुख छोप्नुपर्ने, आलोचना गर्न पनि मुख छोप्नुपर्ने स्थितिको अन्त्य गर्नुपर्छ। बहुलता र विविधतामा आधारित खुला समाज, जहाँ हरेक युवाको, हरेक नागरिकको आत्मसम्मानपूर्वक स्वदेशमै गरिखाने सपना पूरा होस्। रास्वपाको ध्येय यही आशा जगाउने, अवसर जुटाउने र बाटो देखाउने हुनुपर्छ।
साथीहरू,
हाम्रो पार्टीभित्र विचारहरू फरक हुन सक्छन्। अनुभवहरू फरक हुन सक्छन्। कार्य गर्ने शैली फरक हुन सक्छ। तर हाम्रो गन्तव्य फरक हुन सक्दैन। लोकतन्त्रको सुन्दरता विविधतामा हुन्छ, तर संगठनको शक्ति एकतामा हुन्छ। त्यसैले विचारको विविधतालाई विभाजन होइन, शक्ति बनाउँदै विधि, मर्यादा र अनुशासनको साझा घेराभित्र अघि बढ्नु आजको आवश्यकता हो।
हामीले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन। व्यक्ति आउँछन्, जिम्मेवारी सम्हाल्छन् र एक दिन बिदा हुन्छन्। तर संस्था रहिरहनुपर्छ। विचार रहिरहनुपर्छ। अभियान जीवित रहिरहनुपर्छ।
पद सम्मानको विषय हुन सक्छ, तर पदभन्दा माथि उद्देश्य हुनुपर्छ। महत्वाकांक्षा भन्दा माथि आदर्श हुनुपर्छ। र व्यक्तिगत आकांक्षा भन्दा माथि पार्टी र देशको हित हुनुपर्छ। आजको महाधिवेशन नेतृत्व चयन गर्ने प्रक्रियामा मात्र सिमित छैन।यो हाम्रो परिपक्वताको परीक्षा हो।
यो हामी कस्तो राजनीतिक संस्कृति निर्माण गर्न चाहन्छौँ भन्ने निर्णयको क्षण हो। यहाँबाट नयाँ नेतृत्व जन्मिने मात्र छैन, यहाँबाट नयाँ राजनीतिक संस्कारको सन्देश पनि देशभरि जानेछ।
इतिहासले हामीलाई कति ठूलो पार्टी भयौँ भनेर होइन, कति जिम्मेवार भयौँ भनेर सम्झिनेछ।
धन्यवाद
जय घण्टी।