जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाएका छन्।
मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन्।
सरकारले बाह्य मुलुकको हित हुने खालको काम गरिरहेकाले उनीहरू खुसी भएको पनि सांसद ठाकुरको जिकिर थियो।
उनले सरकारले नेपाली जनताको नभई अन्य मुलुकको हित हुनेगरी काम गरिरहेको पनि बताए।
सरकारको प्राथमिकतामा देश र जनता नरहेको सांसद ठाकुरको बुझाइ थियो।
उनले भने, ‘जुन राज्य छ। यो ननफङ्सनिङ हो। जनताको हातमा त केही छैन। सबै सकियो। हाम्रो स्वतन्त्रतामाथि नै असर परिरहेको छ। किनकी बाहिरका मानिसहरूले सबै चिज कब्जा गरिहाले। र उनीहरूको चित्त बुझाउने गरी सारा काम भइरहेको छ। हामी त त्यसमा कहीँ पनि पर्दै पर्दैनौं। हामी यो देशका नागरिक हौं। हाम्रो चित्त बुझाउने किसिमको हाम्रो भलाइ हुने किसिमको काम हाम्रो सरकार भएन हुने हो। यो त हाम्रो सरकार नै छैन। यो बाहिरवालाको सरकार हो। बाहिरवालाले त यो सरकारलाई बाहबाही दिइरहेको नै छ नि।’
सांसद ठाकुरले सरकारको कारण मुलुक बाह्य मुलुकहरूको कब्जामा गएको पनि बताए। –न्युज एजेन्सी नेपाल