गृहमन्त्री सुधन गुरूङले अम्लेट खाँदा माछाको काँडा भेटिएको छ।
गृहमन्त्रीको सचिवालयले ह्वाट्सएपमार्फत् पत्रकारहरूलाई पठाएको जानकारीअनुसार आज चितवनको लड्स प्लाजा होटलमा अम्लेट खाने क्रममा माछा काँडा भेटिएको हो।
अम्लेटमा 'अखाद्य वस्तु' भेटिएको भन्दै सञ्चालक टिमसँग सोधपुछ गरिएको पनि गृहमन्त्रीको सचिवालयले जनाएको छ।
‘कुनै पनि कर्मचारीलाई पक्राउ गरिएको छैन,’ गृहमन्त्रीको सचिवालयले भनेको छ।
तर लड्स प्लाजा होटलका दुई कर्मचारीलाई यसबारे प्रहरीले सोधपुछ गरी छाडेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलका अनुसार यो घटनाबारे होटलका दुई कर्मचारीसँग सोधपुछ गरिएको हो।
‘घटना के हो भनेर दुई जनासँग सोधपुछ गरेका थियौं, उहाँहरूले हाम्रो संलग्नता छैन, थाहा छैन भन्नुभयो, हामीले उहाँहरूलाई छाडिसक्यौं,’ उनले भने।