राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि पहिलो चरणको मतदान बुधबार बिहान सुरू हुने भएको छ।
केन्द्रीय निर्वाचन आयोगले तेस्रो पटक संशोधन गरेर जारी गरेको निर्वाचन कार्यतालिकामा मंगलबार रातभरिमा निर्वाचन प्रक्रिया सम्पन्न गरेर बुधबार बिहान मतदान सुरू गर्ने उल्लेख छ। समय भने तोकिएको छैन।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी संशोधित कार्यतालिका अनुसार उम्मेदवारी दर्ता, दाबी-विरोध र अन्तिम नामावली प्रकाशनको काम आज रातभरिमा सम्पन्न गरिनेछ।
संशोधित तालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भइसकेको छ भने सभापति पदका लागि मनोनयन फारम दर्ता गर्न साँझ ७ बजेदेखि साढे ७ बजेसम्म समय तोकिएको छ।
सभापतिमा रवि लामिछानेले उम्मेदवारी दिँदै छन्।
उनको प्रस्तावकमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह बस्ने स्रोतले जानकारी दिए।
यसका लागि मनोनयन फारम दर्ता गर्न रवि र बालेन सँगसँगै महाधिवेशन स्थलमै रहेको निर्वाचन आयोगको सचिवालय गएका छन्।
त्यस्तै, पार्टी केन्द्रीय सदस्य पदका लागि साँझ ७:३० देखि बेलुकी ९:३० बजेसम्म महाधिवेशन स्थलमा रहेको निर्वाचन आयोगको सचिवालयबाट फारम वितरण तथा दर्ता गर्ने कार्यतालिका छ।
उम्मेदवारी दर्ता सकिएलगत्तै राति १० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। त्यसपछि राति १०:३० बजेसम्म उम्मेदवारहरू विरूद्ध दाबी-विरोध गर्ने समय दिइएको छ।
प्राप्त दाबी विरोधमाथि राति ११ बजेसम्म जाँचबुझ गरिने र उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि राति ११:१५ बजेसम्मको अन्तिम समय सीमा तोकिएको छ।
आजै राति ११:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै सोही समयदेखि मौन अवधि सुरू हुने निर्वाचन आयोगले जनाएको छ।
त्यसपछि भोलि असार १० गते बिहानदेखि पहिलो चरणको मतदान सुरू हुनेछ।
पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि मतदान हुनेछ। मतदान सम्पन्न भएको दुई घन्टापछि पहिलो चरणको मतगणना सुरू गरी मतपरिणाम घोषणा गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ।
पहिलो चरणको परिणाम आएपछि दोस्रो चरणमा पदाधिकारीहरूको चुनाव हुनेछ। यसका लागि अर्को निर्वाचन कार्यतालिका सार्वजनिक गरिने आयोगले जनाएको छ।