राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछानेको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका छन्।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सभापतिमा लामिछानेले मात्र मनोनयन पत्र दर्ता गरेकाले उनी निर्विरोध निर्वाचित भएको बताए।
लामिछानले वरिष्ठ नेता बालेन शाहलाई प्रस्तावक राखेर उनले मनोयन दर्ता गराएका हुन्।
मनोयन दर्तापछि दुवैले निर्वाचन आयोग सचिवालयको बरन्डामा आएर हात हल्लाएका थिए।
अब संशोधित निर्वाचन कार्यतालिका अनुसार केन्द्रीय सदस्यहरूको उम्मेदवारी दर्ता, दाबी-विरोध र अन्तिम नामावली प्रकाशनको काम आज रातभरिमा सम्पन्न गरिनेछ।
संशोधित तालिका अनुसार पार्टी केन्द्रीय सदस्य पदका लागि साँझ ७:३० देखि बेलुकी ९:३० बजेसम्म महाधिवेशन स्थलमा रहेको निर्वाचन आयोगको सचिवालयबाट फारम वितरण तथा दर्ता भइरहेको छ।
उम्मेदवारी दर्ता सकिएलगत्तै राति १० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। त्यसपछि राति १०:३० बजेसम्म उम्मेदवारहरू विरूद्ध दाबी-विरोध गर्ने समय दिइएको छ।
प्राप्त दाबी विरोधमाथि राति ११ बजेसम्म जाँचबुझ गरिने र उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि राति ११:१५ बजेसम्मको अन्तिम समय सीमा तोकिएको छ।
आजै राति ११:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै सोही समयदेखि मौन अवधि सुरू हुने निर्वाचन आयोगले जनाएको छ।
त्यसपछि भोलि असार १० गते बिहानदेखि पहिलो चरणको मतदान सुरू हुनेछ।
पहिलो चरणको मतदान सम्पन्न भएको दुई घन्टापछि मतगणना सुरू गरी परिणाम घोषणा गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ।