राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन मनोनयन फारम भर्ने क्रम जारी छ।
इच्छुक उम्मेदवारहरूले महाधिवेशन स्थलमा हलभित्र बसेर आ-आफ्नो मनोनयन फारम भरिरहेका छन्। केन्द्रीय सदस्यमा उम्मेदवारी दिन एक जना प्रस्तावक र २१ जना समर्थक चाहिन्छ। उम्मेदवारी शुल्क २१ हजार रूपैयाँ तोकिएको छ।
प्रस्तावक र समर्थक बस्नेले आफै उम्मेदवारी दिन पाउने छैनन्। केन्द्रीय सदस्यका आकांक्षी धेरै भएपछि कटौती गर्न यस्तो नियम राखिएको हो।
आज रातभरिमा निर्वाचन कार्यक्रम सम्पन्न गरी बुधबार बिहानबाट मतदान सुरू गर्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
पहिलो चरणमा सभापति र केन्द्रीय समितिका सदस्यहरूको निर्वाचन हुनेछ। सभापतिमा रवि लामिछानेको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भइसकेका छन्। उनको उम्मेवारीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह प्रस्तावक थिए।
संशोधित विधान अनुसार केन्द्रीय समिति १५८ सदस्यको हुनेछ, जसमध्ये ९९ जना निर्वाचनबाट छानिने छन्।












