रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय सदस्य पदका लागि निर्वाचनको तयारी भए पनि अहिलेसम्म उम्मेदवारको प्रारम्भिक सूची नै सार्वजनिक हुन सकेको छैन।
नाम सार्वजनिक नहुँदा विद्युतीय भोटिङ मेसिनमा नामावली इन्ट्रीको काम पनि हुन सकेको छैन।
मतदानका लागि रामलक्ष्मण इनोभेसनको विद्युतीय मेसिन प्रयोग हुनेछ। इनोभेसनका सञ्चालक लक्ष्मण रिमालका अनुसार मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग हुनेछन्।
‘उम्मेदवारको नाम नआउँदा इन्ट्री गर्न पाएका छैनौं,’ उनले भने। केन्द्रीय सदस्य पदमा ४२९ जनाले उम्मेदवारी दिएको भनिएको थियो।
रास्वपा सभापति पदमा रवि लामिछाने निर्विरोध भइसकेका छन्। वरिष्ठ नेता प्रधानमन्त्री बालेन शाहलाई बनाउने तयारी छ।
महाधिवेशनमा करिब ४१ सय प्रतिनिधि छन्। रास्वपा महाधिवेशन असार ७ देखि ९ गतेसम्म गर्ने तय भए पनि प्रतिनिधि टुंग्याउन ढिलाइ हुँदा बन्द सत्र पनि ढिलो भएको थियो।
मनोनयनलगायत निर्वाचन प्रक्रिया पनि त्यसपछि ढिलाइ भएको थियो।
केन्द्रीय सदस्य निर्वाचन सकिएपछि पदाधिकारीका लागि निर्वाचन गर्ने तयारी छ।