राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेसम्म पनि महाधिवेशन प्रतिनिधि टुंगो लगाउन सकेको छैन।
९९ केन्द्रीय सदस्य पदका लागि मनोनयन हुँदासमेत महाधिवेशन प्रतिनिधिहरूको विवाद कायमै छ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली पनि सार्वजनिक हुन सकेको छैन। ४ सय २९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको भनिए पनि पार्टी निर्वाचन आयोगबाट यसको विवरण सार्वजनिक भइरहेको छैन।
महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशन प्रतिनिधिको सूची तयार हुँदा अझै केही नाम छुटेको गुनासो आएको छ।
‘महाधिवेशन प्रतिनिधिहरूको सूची तयार हुँदा अझै केही नाम छुटेको गुनासो आएकोले समाधान प्रयास भइरहेको र आफ्नो प्रदेशमा कुनै समस्या भए प्रदेश सभापति वा प्रदेश महामन्त्रीमार्फत सहजीकरणका लागि लिखित विवरण अपराह्न ३:३० बजेभित्र उपलब्ध गराउन अनुरोध छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
रास्वपा महाधिवेशन प्रतिनिधि करिब ४१ सय पुगेको भनिएको छ।