राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनमा मतदानको टुंगो अझै लागेको छैन।
मतदानका लागि विद्युतीय मेसिन तयारी अवस्थामा राखिएको छ। तर अहिलेसम्म उम्मेदवार नै टुंगो नलाग्दा ती मेसिनमा नाम इन्ट्री गर्ने काम सुरू भएको छैन।
नाम इन्ट्री गर्न नै कम्तिमा ६ घन्टा लाग्ने विद्युतीय भोटिङ मेसिन उपलब्ध गराएको रामलक्ष्मण इनोभेसनले जनाएको छ।
विद्युतीय भोटिङ मेसिनमा प्रबिष्ट गर्न सूची पठाउनुअघि अझै तीनवटा काम बाँकी छन्। उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक, त्यसमा दाबी बिरोध र अन्तिम नामावली प्रकाशन।
९९ केन्द्रीय सदस्यका लागि करिब ४२९ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ। तर त्यसमा अझै रूजु बाँकी भएकाले सार्वजनिक नगरिएको भनिएको छ।
अपराह्न ३ बजेपछि रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले प्रतिनिधिकै सूची तयार हुँदा केही नाम छुटेको भनेका छन्।
‘महाधिवेशन प्रतिनिधिहरूको सूची तयार हुँदा अझै केही नाम छुटेको गुनासो आएकोले समाधान प्रयास भइरहेको र आफ्नो प्रदेशमा कुनै समस्या भए प्रदेश सभापति वा प्रदेश महामन्त्रीमार्फत सहजीकरणका लागि लिखित विवरण अपराह्न ३:३० बजेभित्र उपलब्ध गराउन अनुरोध छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
मतदानको टुंगो नभएपछि प्रतिनिधिहरू अहिले मत माग्न हिँडिरहेका छन्। गलामा उम्मेदवारको पोस्टर झुण्ड्याएर बन्द सत्र स्थल वरपर प्रतिनिधिहरू मत मागिरहेका छन्।
तस्बिरहरूः











तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।