राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको चुनावमा उम्मदेवारहरूको प्रारम्भिक सूची निकाल्दासम्म पनि उनीहरूलाई भोट दिने महाधिवेशन प्रतिनिधिको नामावली टुंगो लगाएको छैन।
चुनावको प्रक्रिया सुरू गर्नुअघि नै मतदाता नामावली टुंग्याउनुपर्ने नियम भए पनि मुलुकभरबाट आएका महाधिवेशन प्रतिनिधि को हुन् भन्ने छिनोफानो भइसकेको छैन।
महामन्त्री कबिन्द्र बुर्लाकोटीले केहीबेरअघि महाधिवेशन प्रतिनिधिको सूची तयार हुँदा अझै केही नाम छुटेको गुनासो आएको भन्दै ३:३० सम्म उक्त गुनासो सम्बोधन हुने समय थपिएको जानकारी गराएका थिए। तर निर्धारित समयभन्दा झन्डै २ घन्टा हुन लाग्दा पनि प्रतिनिधिको टुंगो लाग्न सकेको छैन।
रास्वपा महाधिवेशन प्रतिनिधि करिब ४१ सय पुगेको भनिएको छ।
भोट हाल्ने प्रतिनिधि नटुंग्याए पनि निर्वाचन प्रक्रिया भने अघि बढिसकेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४ जनाले उम्मेदवारी दिएको भन्दै प्रारम्भिक सूची प्रकाशन गरेको छ।
कार्यसूची अनुसार अब प्रारम्भिक सूचीमाथि दाबी विरोध र उजुरी माग गरिन्छ। त्यसमाथि छानबिन गरेर उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुन्छ। त्यसपछि मात्रै केन्द्रीय सदस्य चयनका लागि चुनाव हुने कार्यतालिका छ।
केन्द्रीय सदस्य १५८ जना भए पनि ९९ जना चुनावमार्फत निर्वाचित हुने र बाँकीलाई पछि मनोनित गरिने रास्वपा विधानमा उल्लेख छ।
केन्द्रीय सदस्य निर्वाचनको नतिजा आएपछि बल्ल ८ जना पदाधिकारीको लागि चुनाव हुनेछ।