प्रधानन्यायाधीश मनोजकुमार शर्माको नियुक्ति सम्बन्धी रिट दरपीठ गर्ने आदेशलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले सदर गरेको छ।
प्रधानन्यायाधीश शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासले रिटलाई दरपीठ गर्ने प्रशासनको आदेशलाई नै सदर गरेको हो।
‘प्रधानन्यायाधीश नियुक्तिको विषयमा पेश भएको रिटमा भएको दरपीठ आदेश विरूद्ध आज संवैधानिक इजलासमा पेस भएकोमा दरपीठ आदेश सदर भएको छ,’ प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले भने।
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा शर्मालाई नियुक्त गर्न सिफरिस गरेपछि सर्वोच्चमा तीन वटा रिट पेस भएका थिए।
तीन वटै रिटलाई सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो। दरपीठविरूद्ध पेस भएका निवेदनलाई सर्वोच्चको प्रशासनले प्रधानन्यायाधीश शर्माको नियुक्ति नहुँदासम्मका लागि रोकेको थियो।
त्यतिबेला कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दरपीठ विरूद्धका निवेदन दर्ता गर्न प्रशासनलाई निर्देशन दिएकी थिइन्। तर उक्त निवेदन प्रधानन्यायाधीश शर्माले कार्यभार सम्हालिसकेपछि मात्रै दर्ता भएका थिए।
जेठ ११ गते ती तीनै वटा निवेदन न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेस भएका थिए। त्यसमध्ये अधिवक्ता गीता थापा समेतले दायर गरेको रिट दरपीठ विरूद्धको निवेदनलाई संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो।
‘प्रस्तुत निवेदनमा उठाइएको अध्यादेश बदरको माग धारा १३७ बमोजिम संवैधानिक इजलासको अधिकार क्षेत्रभित्र पर्ने र प्रस्तुत दरपीठको आदेश बदर मागको निवेदन समेत उपर संवैधानिक इजलासले नै विचार गर्नुपर्ने देखिँदा संवैधानिक इजलासमा पेस गर्नू,’ आदेशमा भनिएको थियो।
त्यसअनुसार दरपीठको आदेश ठिक/बेठिक भन्ने निर्णय यही संवैधानिक इजलासले गर्ने भएको हो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले दरपीठ भने सदर भएको थियो।