राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरूका लागि गएराति १२ बजेपछि मतदान सुरू भएको छ।
मतदान अहिले पनि जारी छ। अहिलेसम्म १७ सय मत खसेको राम-लक्ष्मण इनोभेसनका लक्ष्मण रिमालले जानकारी दिए।
सरकारी समाचार संस्था 'रासस' ले केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीलाई उद्धृत गर्दै मतदान बिहान १० बजेसम्म जारी रहने उल्लेख गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४ जनाले उम्मेदवारी दिएका छन्। केन्द्रीय सदस्य १५८ जना भए पनि ९९ जना चुनावमार्फत निर्वाचित हुने र बाँकीलाई पछि मनोनित गरिने रास्वपा विधानमा उल्लेख छ।
विधान अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा आएपछि दोस्रो चरणमा ८ जना पदाधिकारीका लागि चुनाव हुनेछ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।
यसअघि पार्टीको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको सूची सार्वजनिक गरिसक्दा पनि उनीहरूलाई भोट हाल्ने महाधिवेशन प्रतिनिधिहरूकै नामावली टुंगो नलाग्दा मतदानमा ढिलाइ भएको थियो। मतदान बुधबार बिहान ८ बजेबाट सुरू हुने भनिएको थियो।
पूर्वघोषित महाधिवेशन अवधि सकिएर थप एक दिन बितिसक्दा पनि मतदानको सुरसार नदेखेपछि असन्तुष्ट बनेका कतिपय प्रतिनिधिले आक्रोसित हुँदै भोट बहिष्कारको नारा लगाउन थालेका थिए। प्रतिनिधिहरूको नाराबाजीसँगै महाधिवेशन स्थलमा ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
मध्यरातमा मतदान सुरू भएसँगै अहिले महाधिवेशन प्रतिनिधिहरू लाम लागेर मतदान हलमा प्रवेश गरिरहेका छन्।