राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि मतदान जारी छ। गएराति १२ बजेपछि सुरू भएको पहिलो चरणको मतदानको समय बिहीबार दिउँसो १२ बजेसम्म तोकिएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
हालसम्म १६ सयभन्दा बढी प्रतिनिधिले भोट हालिसकेको राम-लक्ष्मण इनोभेसनका लक्ष्मण रिमालले जानकारी दिए।
निर्वाचनमा प्रयोग भइरहेको विद्युतीय मेसिन व्यवस्थापन गरिरहेका रिमालले करिब ३ हजार भोट खस्ने अनुमान रहेको बताए। महाधिवेशन प्रतिनिधि संख्या ४१ सयभन्दा बढी भए पनि मतदानमा भएको ढिलाइले कतिपय प्रतिनिधि घर फर्किसकेका छन्।
आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणमा केन्द्रीय सदस्यका लागि भइरहेको निर्वाचनमा ३८४ जना उम्मेदवार छन्। यसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ।
एउटा प्रदेशबाट पाँच जना निर्वाचित हुने छन्। सात प्रदेशबाट ३५ जना निर्वाचित हुने छन्।
प्रमुख केसीका अनुसार सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४ जनाले उम्मेदवारी दिएका छन्। केन्द्रीय सदस्य १५८ जना भए पनि ९९ जना चुनावमार्फत निर्वाचित हुने र बाँकीलाई पछि मनोनित गरिने रास्वपा विधानमा उल्लेख छ।
विधान अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा आएपछि दोस्रो चरणमा ८ जना पदाधिकारीका लागि चुनाव हुनेछ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।
यसअघि पार्टीको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको सूची सार्वजनिक गरिसक्दा पनि उनीहरूलाई भोट हाल्ने महाधिवेशन प्रतिनिधिहरूकै नामावली टुंगो नलाग्दा मतदानमा ढिलाइ भएको थियो। मतदान बुधबार बिहान ८ बजेबाट सुरू हुने भनिएको थियो।
पूर्वघोषित महाधिवेशन अवधि सकिएर थप एक दिन बितिसक्दा पनि मतदानको सुरसार नदेखेपछि असन्तुष्ट बनेका कतिपय प्रतिनिधिले आक्रोसित हुँदै भोट बहिष्कारको नारा लगाउन थालेका थिए। प्रतिनिधिहरूको नाराबाजीसँगै महाधिवेशन स्थलमा ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
मध्यरातमा मतदान सुरू भएसँगै अहिले महाधिवेशन प्रतिनिधिहरू लाम लागेर मतदान हलमा प्रवेश गरिरहेका छन्।