राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सांसद एवं केन्द्रीय सदस्य उम्मेदवार राजीव खत्रीले जारी महधिवेशनमा नो भोटको व्यवस्था नगरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
रास्वपाले स्थापनादेखि नै निर्वाचनमा नो भोटका लागि वकालत गर्दै आएको छ।
कुनै पनि उम्मेदवार मन नपरे नो भोट दिने र त्यस्तो नो भोट गर्नेको संख्या बहुमत भए फेरि चुनाव गर्ने व्यवस्था राख्नुपर्ने रास्वपाको आधिकारिक धारणा छ।
तर रास्वपा महाधिवेशनमा भने अनिवार्य मतदानको व्यवस्था गरिएको छ। अर्थात् खुलातर्फ केन्द्रीय सदस्यको जति संख्या आवश्यक हो त्यतिलाई अनिवार्य मत दिएपछि मात्र अर्को क्लष्टरमा मत दिन पाइन्छ।
अर्थात् खुलातर्फ ६४ जना उम्मेदवार भएको ठाउँमा कतिपय चिन्दै नचिनेको मान्छेलाई पनि मत दिनु परेको भन्दै महाधिवेशन प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्।
यसले गर्दा नचिनेको उम्मेदवार गलत पर्न सक्ने उनीहरूको आशंका छ।
६४ खुला पदका लागि २१० को उम्मेदवार छन्। त्यस्तै प्रत्येक प्रदेशबाट ५ जना केन्द्रीय सदस्य छानिनेछन्। यसका लागि १७४ जना प्रतिस्पर्धामा छन्।
कतिपय प्रदेशका चिन्दै नचिनेका मानिसहरूलाई मत हाल्दा गलत मान्छे छानिने भय रास्वपाकै महाधिवेशन प्रतिनिधिहरूलाई छ ।
मतदान जारी रहँदा प्रतिनिधिहरूको जस्तै केन्द्रीय सदस्य उम्मेदवार रहेका खत्रीले मतदान प्रणालीमा सार्वजनिक रूपमा असन्तुष्टि जनाएका हुन्। खत्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् 'संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ, नो भोटको धज्जी।'
रास्वपाको केन्द्रीय सदस्य चयनका लागि मतदान जारी छ। यसपछि पदाधिकारीका लागि मतदान हुनेछ।