लुम्बिनी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। यसअघि असार ११ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको बैठक स्थगित भएको सूचना जारी गरिएको हो।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले बिहीबार सूचना जारी गर्दै सभामुखको निर्देशन अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जनाएका छन्।
‘पूर्व सूचना अनुसार निर्धारित आठौँ अधिवेशनको एघारौँ बैठक माननीय सभामुखज्यूको निर्देशानुसार अर्को सूचना नभएसम्मका लागि स्थगित भएको ब्यहोरा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम माननीय सदस्यज्यूहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ, सूचनामा उल्लेख छ।
यसअघि प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति सत्तारूढ दलकै सांसदहरूले चर्को असन्तुष्टि जनाएपछि मंगलबारको बैठक १६ मिनेटमै स्थगित भएको थियो।
बजेट वितरणमा मन्त्रीहरूले विभेद गरेको र आफ्ना निर्वाचन क्षेत्रमा मात्रै योजना केन्द्रित गरेको भन्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरू आ आफ्नो स्थानमा उठेर बैठक अवरूद्ध पारेका थिए।
सांसदहरूले जिल्लाका आवश्यक योजनाहरू हटाइएको भन्दै त्यसबारे सरकारको स्पष्ट जवाफ नआउँदासम्म विरोध जारी रहने चेतावनी दिएका थिए।
लुम्बिनी प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।