राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको निर्वाचन पनि आजै सुरू गर्ने तयारी गरेको छ।
पार्टीका प्रवक्ता मनिष झाले महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुराकानीका क्रममा आज अपराह्न ४ बजेदेखि पदाधिकारी निर्वाचन सुरू गर्ने तयारी रहेको बताएका हुन्।
‘अब हामीले दोस्रो चरणको निर्वाचन तयारी सुरू गरिसकेका छौं, आजै अपराह्न ४ बजेदेखि सुरू गर्ने भन्ने छ, सभापतिज्यूले पनि दोस्रो चरणको निर्वाचन सुरू गर्न निर्देशन दिनुभएको अवस्था छ,’ उनले भने, ‘खुला उपसभापति, महिला उपसभापति, एउटा महामन्त्री, २ खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्रीमा निर्वाचन हुनुपर्नेछ। यतिको लागि लगभग चारदेखि ५ मिनेटमा एक जनाले मतदान गर्न समय लाग्ला।’
रास्वपाले पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन गरेको छ। सभापतिमा रवि लामिछाने निर्विरोध भएका छन् भने केन्द्रीय सदस्यहरूको निर्वाचनको परिणाम आइसकेको छैन।
उनकाअनुसार पहिलो चरणमा ३१०० हाराहारी मत खसेको थियो।
तर पहिलो चरणमा जम्मा २९५९ मत खसेको पाइएको छ। रास्वपा महाधिवेशनमा ४३११ जना प्रतिनिधि रहेको बताइएको थियो।
रास्वपामा अब उपसभापति, महामन्त्री, सहमहामन्त्री पदमा चुनाव हुन बाँकी छ। यी पदहरूका लागि आजै चुनाव गर्ने तयारीमा रास्वपा छ।
चितवनको भरतपुरमा असार ७ गतेदेखि रास्वपा महाधिवेशन जारी छ। महाधिवेशनमा निर्वाचन प्रक्रियामा भएको ढिलाइले केही प्रतिनिधि भने घर फर्किसकेका छन्।
पदाधिकारी चयन गर्नका लागि पनि महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नुपर्ने हुन्छ।
रास्वपा नेताहरूले प्रतिनिधिहरूलाई अहिले नै घर नफर्किन अपिल गरिरहेका छन्। नेताहरू शिशिर खनाल, हरि ढकाल, डा. तोसिमा कार्कीले दोस्रो चरणको मतदान सकिएपछि मात्रै प्रतिनिधिहरूलाई घर फर्किन आग्रह गरेका छन्।
व्यवस्थापकीय कमजोरीका बीच पनि प्रतिनिधिहरू धैर्य गरेर बसेकोमा पनि प्रवक्ता झाले धन्यवाद दिएका छन्।
‘विभिन्न निकायहरूबाट व्यवस्थापकीय कमजोरी भएका छन्, हामी लज्जित छौं,’ उनले भने। उनले निर्वाचनमा प्रतिनिधि (मतदाता) को सहभागिता सन्तोषजनक रहेको पनि बताए।