राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत पहिलो चरणको निर्वाचन सकिएको छ।
९९ जना केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको परिणाम आइसकेको छैन।
उक्त निर्वाचनमा २९५९ जनाले मतदान गरे। विद्युतीय मेसिनबाट मतदान गरिएको हो।
रास्वपाले महाधिवेशनमा कति महाधिवेशन प्रतिनिधि सहभागी रहे भन्ने औपचारिक तथ्यांक सार्वजनिक गरेको छैन। नेताहरूका अनुसार यो महाधिवेशनमा ४३११ जना प्रतिनिधि थिए।
यो प्रतिनिधि संख्यालाई आधार मान्ने हो भने रास्वपा पहिलो चरणको निर्वाचनमा १३ सयभन्दा धेरै प्रतिनिधिले मत खसालेनन्। के कारण उनीहरू मतदानमा सहभागी भएनन् यकिन छैन।
तर नेताहरूका अनुसार मतदान प्रक्रिया बिलम्ब हुँदा प्रतिनिधिहरू घर फर्किन थालेका थिए।
प्रवक्ता मनिष झाले महाधिवेशनस्थलमा आज दिउँसो पत्रकारहरूसँग कुराकानी गर्दै धेरै महाधिवेशन प्रतिनिधिहरू फर्किएको चर्चा रहे पनि यत्तिको संख्या मतदानमा सहभागी रहनु सन्तोषजनक रूपमा लिनुपर्छ भनेका छन्।
उनकाअनुसार दोस्रो चरण निर्वाचन सुरू गर्न सभापति रवि लामिछानेले पार्टी निर्वाचन आयोगलाई निर्देशन दिइसकेका छन्।
सोअनुसार आज अपराह्न ४ बजदेखि दोस्रो चरणको निर्वाचन गर्ने तयारी छ। उक्त निर्वाचनमा एक जना प्रतिनिधिले करिब ५ मिनेटभित्रै मतदान गरिसक्ने आकलन छ।
खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, २ खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्रीका लागि निर्वाचन गर्न बाँकी छ। यी पदमा को कोले मनोनयन दर्ता गर्छन् यकिन भइसकेको छैन।
यी पदमा निर्वाचन गर्न पनि महाधिवेशन प्रतिनिधिहरूले नै मतदान गर्नुपर्छ। त्यसैले नेताहरू हरि ढकाल, सोबिता गौतम, शिशिर खनाल, डा. तोसिमा कार्कीलगायतले प्रतिनिधिहरूलाई दोस्रो चरणको मतदानमा सहभागी रहेर मात्र घर फर्किन अपिल गरेका छन्।
रास्वपा महाधिवेशन व्यवस्थापकीय पक्ष कमजोर रहेको भन्दै प्रतिनिधिहरू र नेताहरूबाटै आलोचना भएको छ। व्यवस्थापकीय कमजोरी देखिएकोमा आफूहरू लज्जित रहेको प्रवक्ता झाले पनि बताए।
यसैबीच सांसदसमेत रहेकी केन्द्रीय सदस्य पदकी उम्मेदवार टीका संग्रौला ज्वालाले आफ्नो पूरा नाम विद्युतीय मतदान मेसिनमा नदेखिएको भन्दै पार्टी निर्वाचन आयोगमा उजुरी दिएकी छन्। उनको नाममा ज्वाला भन्ने नदेखिएको प्रतिनिधिहरूले गुनासो गरेको पाएपछि आफूले उजुरी दिएको उनको भनाइ छ।
रास्वपा महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा गर्ने तय थियो। महाधिवेशन प्रतिनिधि टुंग्याउन समय लाग्दा महाधिवेशन लम्बिएको थियो। महाधिवेशन प्रतिनिधि टुंगो नलगाई सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका थिए।
रास्वपाले प्रतिनिधिहरूलाई खानाखाजाको व्यवस्था गरे पनि बासको व्यवस्थापन गरेको थिएन। प्रतिनिधि आफैले बासको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको र महाधिवेशन लम्बिएपछि केही प्रतिनिधि घर फर्केका छन्।
सिन्धुपाल्चोकका एक प्रतिनिधिले महाधिवेशन लम्बिएपछि आफू घर फर्किएको बताए। ‘तीन दिने महाधिवेशनका लागि भनेर गएको हो, ५ दिनसम्म लम्बियो, म घर फर्किंदै छु,’ ती प्रतिनिधिले सेतोपाटीसँग भने, ‘केन्द्रीय सदस्यका लागि भोट हालेर आएको हो, राम्रा केन्द्रीय सदस्य आए भने पदाधिकारी पनि राम्रै आउलान् भन्ने विश्वासमा छु।’
पदाधिकारी चुनाव हुँदा केन्द्रीय सदस्य निर्वाचनजति पनि भोट नखस्ने चिन्ता नेताहरूमा देखिएको छ।