राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यहरूको निर्वाचन सकिएको छ।
केन्द्रीय समितिका ९९ जना सदस्यका लागि भएको निर्वाचन परिणाम आइसकेपछि दोस्रो चरणमा पदाधिकारीहरूका लागि मतदान हुनेछ। विधान अनुसार १५८ सदस्यीय केन्द्रीय समितिका बाँकी सदस्य सभापतिबाट मनोनीत हुने छन्।
पार्टीको संशोधित विधानअनुसार पदाधिकारी संख्या १९ जनाको छ। तर यी सबै पदाधिकारीका लागि निर्वाचन हुने छैन।
१९ सदस्यीय पदाधिकारीमध्ये सभापतिसहित ७ जनाको मात्र निर्वाचन हुनेछ।
सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेकाले बाँकी ६ जना पदाधिकारीका लागि मात्र मतदान हुनेछ। वरिष्ठ नेतासहित १२ जना पदाधिकारी मनोनीत हुने छन्।
पार्टी प्रवक्ता मनीष झाका अनुसार एक जना उपसभापति (खुला), एक महिला उपसभापति, एक महामन्त्री (खुला), दुई सह-महामन्त्री (खुला) र एक महिला सहमहामन्त्रीमा निर्वाचन हुनुपर्नेछ।
'हामीले दोस्रो चरणको निर्वाचन तयारी सुरू गरिसकेका छौं, आजै अपराह्न ४ बजेदेखि मतदान सुरू गर्ने भन्ने छ। सभापतिज्यूले पनि दोस्रो चरणको निर्वाचन सुरू गर्न निर्देशन दिनुभएको अवस्था छ,' प्रवक्ता झाले महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै भने, 'खुला उपसभापति, महिला उपसभापति, एक महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्रीमा निर्वाचन हुनुपर्नेछ। यतिका लागि मतदानको समय एक जनालाई लगभग चारदेखि पाँच मिनेट लाग्ला।'
पदाधिकारी निर्वाचनको रोचक पक्ष के छ भने, यी सबैजसो पदमा सभापति रवि लामिछानेकै समूहका नेताहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ। त्यसैले उनीहरूलाई सहमति गराएर सर्वसम्मत रूपमा पदाधिकारी छनौटको प्रयास पनि भइरहेको स्रोत बताउँछ।
चुनाव गर्नुपर्ने भयो भने खुला प्रतिस्पर्धाबाट छानिने उपसभापति पदमा स्वर्णिम वाग्लेलाई निर्विरोध निर्वाचित गराउने तयारी छ। अर्थमन्त्री वाग्ले अहिले पनि पार्टीका उपसभापति नै छन्।
मनोनयनबाट छानिने उपसभापतिमा भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल पर्न सक्ने स्रोतले बतायो। उनी प्रधानमन्त्री बालेनको निकट नेतामा पर्छन्। बालेनले केही दिनअघि 'देश बनाउने टोली' भनी सार्वजनिक गरेको तस्बिरमा आफूसहित सुधन गुरूङ र सुनील लम्साल थिए।
त्यस्तै, खुलातर्फको महिला उपसभापतिमा कानुन मन्त्री सोबिता गौतम र अहिले पार्टी कोषाध्यक्ष रहेकी लीमा अधिकारीले प्रतिस्पर्धा गर्ने चर्चा छ। पहिले भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पनि महिला उपसभापतिमा प्रतिस्पर्धा गर्ने भनिएको थियो। तर उनले केन्द्रीय सदस्यमै उम्मेदवारी दिइनन्।
यसबाहेक पूर्वउपसभामुख इन्दिरा राना मगर र चुनावअघि विवेकशील साझाबाट आएकी समीक्षा बाँस्कोटाले पनि उपसभापतिमा प्रतिस्पर्धा गर्न सक्ने चर्चा छ।
पदाधिकारी चयनमा सबभन्दा पेचिलो अवस्था महामन्त्रीमा देखिएको छ।
विधान अनुसार महामन्त्री दुई जना रहने छन्, जसमध्ये एक जना खुला प्रतिस्पर्धाबाट छानिन्छन् भने एक जना मनोनीन हुनेछन्।
मनोनीत हुनेमा बालेन शाहकै समूहबाट भूपदेव शाहको नाम चर्चामा छ। उनी अहिले पनि महामन्त्री नै छन्। बालेन समूह रास्वपामा समाहित भएपछि भूपदेवलाई सोझै महामन्त्री बनाइएको थियो। उनलाई यो महाधिवेशनपछि पनि त्यही पदमा निरन्तरता दिने कुरा भइरहेको स्रोतको भनाइ छ।
खुला प्रतिस्पर्धाबाट छानिने एक जना महामन्त्रीका लागि भने कम्तिमा चार जनाको दाबेदारी छ।
महामन्त्रीका चार आकांक्षीमा मनीष झा, शिशिर खनाल, विपिन आचार्य र कबिन्द्र बुर्लाकोटी छन्। यी चारै जना सभापति लामिछाने समूहका हुन्।
अहिले पार्टी प्रवक्ता रहेका मनीष झाले सार्वजनिक रूपमै आफू महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन्। 'म बरू हार्न तयार छु, तर पछाडि हट्दिनँ,' उनले भनेका छन्, 'मैले पदका लागि भन्दा पनि अहिलेसम्म पार्टीको संगठनमा रहेर गरेको कामको न्यायका लागि उम्मेदवारी दिएको हुँ।'
त्यस्तै, परराष्ट्रमन्त्री रहेका शिशिर खनालले पनि आफ्नो उम्मेदवारीको सार्वजनिक घोषणा गरेका छन्। 'महामन्त्री पदलाई म न्याय गर्छु र आफ्नो जिम्मेवारी पूरा गर्छु भन्नेमा म पूर्ण विश्वस्त छु,' उनले भनेका छन्।
यसबाहेक महामन्त्रीका आकांक्षी कबिन्द्र बुर्लाकोटी अहिले पनि पार्टी महामन्त्री छन्। उनले यही पदमा निरन्तरता दिन चाहेका छन्। त्यस्तै, अहिलेका सहमहामन्त्री विपिन आचार्यले पनि महामन्त्रीको दाबेदारी गरिरहेका छन्।
विधान अनुसार सह-महामन्त्रीमा एक महिलासहित पाँच जना रहने व्यवस्था छ। यसमध्ये तीन जना (महिलासहित) खुला प्रतिस्पर्धाबाट छानिने छन् भने दुई जना मनोनीत हुनेछन्।
मनोनीत हुनेमा बालेन समूहबाट असिम शाहको नाम चर्चामा छ। विवेकशील साझा समूहकै समीक्षा बाँस्कोटालाई महिला उपसभापतिमा प्रतिस्पर्धा नगराएर महिला सहमहामन्त्रीमा मनोनीत गर्न सकिने स्रोत बताउँछ।
बाँकी तीन जनामा हरि ढकाल, यज्ञमणि न्यौपाने, रमेश प्रसाईं, जगदीश खरेल, डा. तोसिमा कार्की, रञ्जु दर्शना लगायतले प्रतिस्पर्धा गर्ने चर्चा छ।
यसबाहेक पार्टी पदाधिकारीहरूमध्ये कोषाध्यक्ष एक जना, सह-कोषाध्यक्ष दुई जना (एक महिला), प्रवक्ता एक जना र सह-प्रवक्ता तीन जना (एक महिला) रहने व्यवस्था छ। यी ७ जना पदाधिकारी नै सभापतिले मनोनीत गर्ने छन्।
मनोनीत हुने ७ पदाधिकारीमा विवेकशील साझा, नागरिक उन्मुक्ति, हामी नेपाललगायत विभिन्न समूहबाट आएका सदस्यहरूलाई समायोजन गर्ने तयारी रहेको स्रोतले बतायो। यसमा बालेन शाह समूहका केही नेता पनि पर्न सक्छन्।
'चुनावअघि मात्र पार्टीमा समाहित हुनुभएका साथीहरूलाई समेटेर लैजान मनोनीत गरेर पदाधिकारीमा ल्याउन खोजिएको हो,' पार्टीका एक पदाधिकारीले भने, 'केही सदस्य जेन-जी समूहबाट पनि ल्याउने तयारी छ।'
सभापति लामिछानेले पनि मंगलबार बन्द सत्र आरम्भ गर्ने क्रममा सबैलाई मिलाएर लैजाने प्रयास भइरहेको बताएका थिए।
'पार्टीको पहिलो महाधिवेशन भएकाले सहमतिमा सबैलाई मिलाएर लैजाने कोसिस भइरहेको छ,' उनले भने, 'तर छनोटको विधिले मलाई एकदमै गाह्रो हुन्छ। कसलाई छान्ने? एउटालाई छाने अर्को छुटिहाल्छ। त्यसैले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आयो भने स्वस्थ रूपमा प्रतिस्पर्धा गर्नू। जसले जिते पनि घन्टीवाहकले जित्ने हो। त्यसैले प्रतिस्पर्धामा जानुपर्ने अवस्था आए गुट-उपगुटमा नलाग्नू,' सभापति लामिछानेले भने।
उनले मनमुटाव छन् भने त्यसलाई कोठामा बसेर छलफल गर्न पनि आह्वान गरेका छन्। 'सडकमा तमासा बनाउने होइन। समस्या भए सुल्झाऊँ, सडकमा तमासा नबनाऔं,' उनले भने।