राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो महाधिवेशनको निर्वाचन तालिका पाँचौँ पटक संसोधन गरेको छ।
पछिल्लो तालिकाअनुसार पहिलो चरणको निर्वाचन (केन्द्रीय सदस्यका लागि) को मतगणना बिहीबार दिउँसो १ बजेदेखि ३ बजेसम्म हुने भनिएको छ तर अहिलेसम्म मतगणना सुरू भएको छैन।
अपराह्न साढे ३ बजेदेखि साढे ४ बजेसम्म विदेशमा रहेका पदाधिकारीलाई भोट गर्न दिने कार्यतालिका छ। पौने ५ बजे पहिलो चरणको मतपरिणाम सार्वजनिक गरिने बताइएको छ। यो समय पनि घर्किसकेको छ।
५ बजेदेखि साढे ६ बजेसम्म दोस्रो चरणको निर्वाचन तयारी गर्ने समय राखिएको छ। साढे ६ देखि ७ बजेसम्म पदाधिकारी पदका लागि मनोनयन फारम वितरण र दर्ताको समय तोकिएको छ।
साढे सात बजे पदाधिकारीका उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिने छ।
८ बजेसम्म उक्त सूचीमा भएका नाममा दाबी विरोध र उजुरी हाल्न पाइने छ। दाबी विरोध र उजुरीमाथि जाँचबुझ गर्ने समय १५ मिनेट राखिएको छ। त्यसपछिको १५ मिनेट उम्मेदवारी फिर्ता लिने समय दिइएको छ।
पौने ९ बजे उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरिने जनाइएको छ। पौने ९ देखि सवा ९ बजेसम्म मौन अवधि तोकिएको छ।
सवा ९ बजेदेखि तीन घण्टासम्म मतदान हुने कार्यतालिकामा उल्लेख छ।
निर्वाचन सकिएको १ घण्टासम्म मतगणना हुने र राती साढे १ बजे मतपरिणाम घोषणा गरिने पार्टी निर्वाचन आयोगले जनाएको छ।