राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यहरूका लागि मतदान सम्पन्न भए पनि गणना सुरू भएको छैन।
प्रवासमा रहेका महाधिवेशन प्रतिनिधिहरूले आ-आफ्नो देशबाट मोबाइल एपमार्फत् मतदान गरेपछि त्यसलाई समेत जोडेर एकैचोटि गणना गरिने जानकारी राम-लक्ष्मण इनोभेसनका लक्ष्मण रिमालले दिए।
विद्युतीय मतदानको व्यवस्थापन गर्दै आएका रिमालले अहिलेसम्म प्रवासका प्रतिनिधिहरूबाट मतदान भए/नभएकोबारे जानकारी नआएको र त्यसको तथ्यांक पनि उपलब्ध नभएको बताए।
'प्रवास प्रतिनिधिहरूको विवरण आएपछि सँगसँगै गणना सुरू हुनेछ,' उनले भने।
अहिलेसम्म केन्द्रीय समितिको मत गणना सुरू नभएकाले पदाधिकारीको चुनावमा ढिलाइ हुने देखिएको छ। आज राति सवा ९ बजेदेखि तीन घन्टासम्म पदाधिकारीका लागि मतदान हुने कार्यतालिकामा उल्लेख थियो।
रास्वपाको विधान अनुसार प्रवास कमिटीका प्रतिनिधिहरूले विदेशबाट मोबाइल एपमार्फत् मतदान गर्ने व्यवस्था छ। प्रवास कमिटीमा १६७ जना भोट हाल्न योग्य महाधिवेशन प्रतिनिधिहरू छन्। पार्टीका प्रदेश सभापतिहरूले प्रवास कमिटीबाट मोबाइल एपमार्फत गरिने मतदानमा असहमति जनाएपछि विवाद निम्तिएको थियो।
सातै जना प्रदेश सभापतिले प्रवास कमिटीको भोटिङमा असन्तुष्टि जनाएपछि केन्द्रीय समितिको मतदान सकिए पनि गणना सुरू हुन सकेको थिएन। पछि प्रदेश सभापतिहरूले प्रवास प्रतिनिधिहरूलाई पनि मतदानमा सहभागी गराउन सहमति जनाएका थिए।
महामन्त्री कबिन्द्र बुर्लाकोटीले बिहीबार दिउँसो प्रवासमा रहेका महाधिवेशन प्रतिनिधिले उतैबाट मतदात गर्न पाउने जानकारी दिएका थिए।
'राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम महाधिवेशनमा भइरहेको केन्द्रीय समिति निर्वाचनमा प्रवासमा रहनुभएका महाधिवेशन प्रतिनिधिहरूले प्रवासबाटै पार्टीको मोबाइल एपमार्फत् केन्द्रीय समितिको निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ,' उनले फेसबुकमा लेखेका थिए।
नेपाली समय अनुसार साँझ ५:२० देखि ६:२० सम्म मतदान खुला गरिएको थियो।
पार्टीको एपमा गएर लग-इन गर्न र दिएको निर्देशन अनुसार मतदान गर्न महामन्त्री बुर्लाकोटीले आग्रह गरेका थिए।
'प्रवासबाटै महाधिवेशनमा सहभागिता जनाउनुहोस्,' उनले फेसबुकमा लेखेका थिए, 'यो धेरै समयपछिको प्रतिक्षा पूरा भएको छ।'
रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको हो। निर्वाचनमा २९५९ जनाले मतदान गरेका छन्।