राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा डा. स्वर्णिम वाग्लेले सबैभन्दा बढी मत प्राप्त गरेका छन्।
चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा वाग्ले सर्वाधिक लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
त्यस्तै कानुनमन्त्री समेत रहेकी सोबिता गौतमले दोस्रो धेरै मत पाएकी छन्।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार, डा. स्वर्णिम वाग्लेले खुलातर्फ २,६०७ मत प्राप्त गरेका थिए भने प्रवास (डायस्पोरा) का प्रतिनिधिहरूबाट थप ४९ मत प्राप्त गरे।
प्रवासतर्फको शतप्रतिशत मत पाउन सफल भएपछि वाग्लेको कुल मत संख्या २,६५६ पुगेको छ।
यसैगरी, खुलातर्फ सोबिता गौतमले २,५९४ मत प्राप्त गरेकी छिन्।
निर्वाचन आयोगका अनुसार गौतमले प्राप्त गरेको यो मत हालसम्मको खुलातर्फको मात्र हो। प्रवासबाट प्राप्त मतहरू गणना गरी यसमा जोडिन बाँकी रहेकाले उनको अन्तिम मत संख्या अझै बढ्ने आयोगले जनाएको छ।