राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचन अन्तर्गत रञ्जु दर्शनाले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
केन्द्रीय समितिको मत परिणाम घोषणालगत्तै रञ्जुले सामाजिक सञ्जाल फेसबुकमार्फत् महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन्।
चुनावबाट छानिने महामन्त्रीतर्फ रञ्जुसहित अहिलेसम्म कम्तीमा पाँच जनाले दाबी गरेका छन्।
महामन्त्रीका लागि मनीष झा र शिशिर खनालले उम्मेदवारी घोषणा गरिसकेका छन् भने कबिन्द्र बुर्लाकोटी र विपिन आचार्यको पनि दाबी छ।
फागुन २१ को निर्वाचनअघि विवेकशील साझा समूहबाट रास्वपामा समाहित भएकी रञ्जु काठमाडौं-१ की निर्वाचित सांसद हुन्।
पार्टी विधान अनुसार महामन्त्रीमा एक जना खुला प्रतिस्पर्धा र एक जना मनोनीत हुने व्यवस्था छ।
मनोनीततर्फ बालेन शाह समूहबाट भूपदेव शाहलाई महामन्त्री बनाउने चर्चा छ।