राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनअन्तर्गत उपसभापतिमा स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठको प्रतिस्पर्धा हुने भएको छ।
यी दुवैले उपसभापति (खुला) तर्फ उम्मेदवारी घोषणा गरेका छन्।
यसअघि उपसभापतिमा वाग्लेलाई निर्विरोध निर्वाचित गराउने कुरा थियो। तर केन्द्रीय सदस्यहरूका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत् उम्मेदवारी घोषणा गरेका हुन्।
काठमाडौं-८ का निर्वाचित सांसद श्रेष्ठले आफ्नो फेसबुकमा लेखेका छन्, 'पहिलो चरणको उत्साहजनक नतिजाको लागि समस्त प्रतिनिधिहरूलाई हार्दिक धन्यवाद तथा नमन। दोस्रो चरणमा उपसभापति पदमा उमेदवारी दिने निर्णय गरेको छु, पुन: तपाईंहरूको माया र मतको अपेक्षा गरेको छु। जय होस्।'
केन्द्रीय सदस्य निर्वाचनमा वाग्लेले खुलातर्फ सबभन्दा बढी २६०७ मत ल्याएका छन् भने श्रेष्ठको भागमा २०९४ मत परेको छ।