राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत दोस्रो चरणको मतदानका लागि अझै उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भएको छैन।
दोस्रो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत बिहान १ बजे उम्मेदवारको प्रारम्भिक सूची गर्ने कार्यतालिका थियो।
बिहान ७ बजेसम्म पनि उम्मेदवारको सूची कुरेर बसिरहेको रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
प्रारम्भिक सूची सार्वजनिकपछि त्यसमा दाबी विरोध र अन्तिम सूची निकाल्ने काम अझै बाँकी रहन्छ। त्यसपछि विद्युतीय मेसिनमा नाम इन्ट्री गराएपछि मतदान सुरू हुनेछ।
इन्ट्रीका लागि सूची पर्खेर बसिरहेको रामलक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले जानकारी दिए।
'सूची आएको छैन। सूची प्राप्त भएपछि इन्ट्रीको काम सकेर मतदान सुरू हुन्छ,' रिमालले भने।
दोस्रो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत बिहान ४ बजेदेखि मतदान हुने कार्यतालिका थियो।
सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेकाले बाँकी ६ जना पदाधिकारीका लागि मात्र मतदान हुनेछ। वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाह सहित १२ जना पदाधिकारी मनोनीत हुने छन्।
निर्वाचन हुने पदाधिकारीमा एक उपसभापति (खुला), एक महिला उपसभापति, एक महामन्त्री (खुला), दुई सह-महामन्त्री (खुला) र एक महिला सह-महामन्त्री छन्।
यी पदका लागि उम्मेदवारी घोषणा गरेर प्रतिस्पर्धामा ओर्लिएका अधिकांश नेता सभापति रवि लामिछाने समूहका छन्। उनीहरूलाई सहमति गराएर सर्वसम्मत रूपमा पदाधिकारी छनौटको प्रयास पनि भइरहेकाले पनि मतदान तोकिएको समयभन्दा ढिला हुने भएको हो।
उपसभापति उम्मेदवारमा विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता गरेपछि स्वर्णिम वाग्ले निर्विरोध भएका छन्।
महामन्त्री पदका लागि शिशिर खनालले पनि दाबी फिर्ता लिइसकेका छन्।
महिला उपसभापतिमा कानुनमन्त्री सोबिता गौतम र डा. तोसिमा कार्कीले उम्मेदवारी घोषणा गरेका छन्।
सबैभन्दा बढी आकांक्षी महामन्त्रीमा देखिएका छन्।
मनीष झा, विपिन आचार्य र कबिन्द्र बुर्लाकोटीले यसअघि नै महामन्त्री पदमा दाबी गर्दै आएका छन्।
यसबाहेक विवेकशील साझाबाट रास्वपामा समाहित भएकी रञ्जु दर्शनाले पनि उम्मेदवारी घोषणा गरेकी छन्।
त्यस्तै, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की र प्रमोद न्यौपानेले पनि महामन्त्रीको आकांक्षा देखाएका छन्।
खुला प्रतिस्पर्धाबाट छानिने तीन जना (महिलासहित) सह-महामन्त्रीमा पनि धेरैले आकांक्षा देखाएका छन्।
अहिलेसम्म हरि ढकाल, यज्ञमणि न्यौपाने, रमेश प्रसाईं, पुकार बम, जगदिश खरेल, सुलभ खरेल, ज्वाला संग्रौला, असीम शाह, रिमा विश्वकर्मा लगायतको नाम चर्चामा छ।