नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच कुराकानी भएको छ।
विराटनगरस्थित कोइराला निवासमा आज बिहान उनीहरूबीच कुराकानी भएको हो।
महामन्त्री घिमिरेले आन्तरिक राजनीति र समसामयिक विषयमा नेता कोइरालासँग भेटघाट र कुराकानी भएको जानकारी दिएका छन्।
महामन्त्री घिमिरेले संस्थापनइतर पक्षका नेताहरूसँग संवाद अघि बढाइने पनि बताएका छन्। नेता पूर्णबहादुर खड्कालगायत सँग पनि अब कुराकानी गर्ने तयारीमा उनी छन्।
कांग्रेस १५ औं महाधिवेशन तयारीमा छ। गत पुस १० गतेसम्म नवीकरण गरेका अधिकांश सदस्यहरूको अद्यावधिक गराएको कांग्रेसले नयाँ क्रियाशील सदस्यता असार २० गतेभित्र बाँड्ने तयारी गरेको छ र यसका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको छ।
गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नरहेका तत्कालीन सभापति शेरबहादुर देउवा र नेता शेखर पक्षका सबैलाई १५ औं महाधिवेशनमा लैजाने चुनौती कांग्रेस संस्थापनलाई छ।
कांग्रेसमा बृहत्तर एकताका लागि भन्दै संस्थापनइतर पक्षले भेलाहरू पनि गरिरहेको छ। यसबीच उपसभापति विश्वप्रकाश शर्माले सहमतिका लागि ७ बुँदे प्रस्ताव गरेका थिए भने नेता कोइरालाले पनि ५ बुँदे प्रस्ताव गरेका थिए।
यी विषयहरू समेटेर पार्टीलाई एकताबद्ध रूपमा अघि लैजाने विषयमा कुराकानी भएको पनि महामन्त्री घिमिरेको भनाइ छ।