कैलालीको लम्कीचुहा अस्पतालको विवाद अझै चर्किन थालेको छ।
नगरपालिकाको स्वामित्वमा सञ्चालन हुँदै आएको अस्पताललाई पछिल्लो समय लम्कीचुहा प्रादेशिक अस्पतालका रूपमा रूपान्तरण गर्न खोजिएको छ।
तर, क्षेत्राधिकारको विषयमा नगरपालिका र प्रदेश सरकारबीचको विवाद भने यथावत् छ।
बिहीबार दिउँसो मात्रै लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीविरुद्ध प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेशप्रसाद यादवले प्रहरीमा उजुरी दिएका छन्।
उनको उजुरीमा मेयर शाहीले आफूलाई गाली–बेइज्जती तथा धम्की दिएको उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्बोधन गरी उनले जाहेरी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका उच्च अधिकारीहरूले विवाद राजनीतिक भएकाले विवाद समाधान गर्ने दायित्व पनि प्रदेश सरकारका स्वास्थ्यमन्त्रीको हुने तर्क गरे।
सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्यमन्त्रीमा नेपाली कांग्रेसका बेलबहादुर राना मगर हालै नियुक्त भएका हुन्। त्यसबारे मन्त्री मगरले समस्या समाधानका विकल्पबारे छलफल भइरहेको बताए।
मेडिकल सुपरिटेन्डेन्ट यादवले मेयर शाहीले बोलेको अडिओ प्रमाणसमेतसँगै पेस गरेको उल्लेख गरेका छन्।
अडिओमा शाहीले यादवलाई पिट्नेसम्मको धम्की दिएकी छन्।
गत जेठ २४ गते मात्रै लम्कीचुहा प्रादेशिक अस्पतालको मुख्यमन्त्री कमलबहादुर शाहले तामझामपूर्वक उद्घाटन गरेका थिए। अस्पताल भवन उद्घाटनका क्रममा बाजागाजा, झाँकी र जुलुससहित मुख्यमन्त्री शाह पुगेका थिए।
लम्कीचुहा नगरपालिका–१० चुहास्थित अस्पतालको स्वामित्वलाई लिएर लामो समयदेखि प्रदेश सरकार र नगरपालिकाबीच विवाद चल्दै आएको थियो। नगरपालिकाले अस्पताल सञ्चालन गर्दै आएको भए पनि प्रदेश सरकारले त्यसलाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो।
प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ देखि प्रदेशका केही अस्पताललाई स्तरोन्नति गर्ने नीति लिएको थियो। सोही योजनाअनुसार लम्कीचुहा अस्पताललाई १५ शैय्याबाट ५० शैय्यामा विस्तार गरी प्रादेशिक अस्पताल बनाउने प्रक्रिया सुरु भएको थियो।
अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले साढे चार करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। अस्पतालका लागि १४६ जनाको दरबन्दी पनि स्वीकृत गरिएको प्रदेश सरकारको भनाइ छ।
स्वामित्वको विवाद चर्किएपछि नगरपालिकाकी मेयर सुशीला शाहीसहितको टोली सर्वोच्च अदालत पुगेको थियो।
अदालतले प्रदेश सरकारकै पक्षमा फैसला सुनाएपछि अस्पताललाई प्रदेश मातहत ल्याउने प्रक्रिया अघि बढेको हो।
कर्मचारी व्यवस्थापन र अस्पताल सञ्चालन अधिकारको विषयमा भने अझै दुई पक्षबीच तनाव कायम छ। यद्यपि उद्घाटनका क्रममा मुख्यमन्त्री शाहले विगतका विवाद बिर्सेर अस्पतालको विकासका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताएका थिए।
उनले प्रदेश सरकारले कसैको अधिकार नमिचेको दाबी गर्दै सहकार्यको हात बढाउन आग्रह गरेका थिए। तर, आज पनि त्यस्तो वातावरण बन्न सकेको छैन। त्यसैको पछिल्लो उपजका रूपमा मेयर शाही र मेडिकल सुपरिटेन्डेन्ट यादवबीचको विवादलाई हेरिएको छ।
मेयर शाहीले आफूले यादवलाई गाली गरेको कुरा स्वीकार गरिन्।
‘अहिलेसम्म हाम्रो नाममा खाता छ, तलब हामीले खुवाउँदै आएका छौँ र अस्पताल सञ्चालन तथा कर्मचारी व्यवस्थापनबारे सम्झौतासमेत भइसकेको छैन,’ मेयर शाहीले भनिन्, ‘यस्तो बेलामा उताबाट परिचालित र उचालिएका कर्मचारी आएर मलाई तपाईंले १० दिनमा सम्झौता किन गर्नुभएन? मेरो सुरक्षा तपाईंले गर्नुपर्छ भन्ने जस्ता कुरा गर्दै आएपछि म आवेशमा आएकी हुँ।’
आफूले छलफलका लागि कार्यालय बोलाउँदासमेत मेडिकल सुपरिटेन्डेन्ट नआएको र भेट्न आफै जान्छु भन्दा पनि नमानेपछि भनाभन भएको उनले बताइन्।
मेयर शाहीले उत्पन्न विवाद समाधानका लागि अस्पताल सञ्चालक समिति सर्वदलीय र सर्वपक्षीय हुनुपर्ने माग गरिन्।
त्यस्तै, प्रदेश सरकारका मान्छेले उचालेका कारण बुधबार मात्रै अस्पतालमा कार्यरत कर्मचारीले पाँच महिनादेखि तलब नपाएको भन्दै नगरपालिकामा आएर ताला लगाउने तथा नाराबाजी गर्ने जस्ता हर्कत गरेकोप्रति उनले रोष प्रकट गरिन्।
‘केही कर्मचारी र महिला डाक्टरलाई उकासेर उधारोमा काम गर्न सक्दैनौँ भनेर मिडिया ट्रायल गर्ने कामहरू भएका छन्,’ शाहीले भनिन्, ‘महिला नेतृत्व स्वीकार नगर्ने र महिला भनेर हेपेर ममाथि ज्यादती गर्न खोजिएको छ भन्ने मलाई लाग्छ।’
झट्ट हेर्दा अस्पतालभित्रको विवाद छताछुल्ल भए पनि कतिपयले यसलाई काका–भतिजीबीचको इगोका कारण निम्तिएको समस्या बताउँछन्।
‘एउटै परिवारका, एउटै पार्टीका र एउटै वडाका काका–भतिजीबीचको इगोका कारण अस्पतालमा समस्या पैदा भएको हो,’ एक नेताले भने, ‘उहाँहरूबीचको आन्तरिक र पारिवारिक इगोका कारण अस्पताललाई रंगमञ्च बनाइनु सही होइन।’
मेयर शाहीले पनि मुख्यमन्त्री शाह एउटै परिवारभित्रका र नाताले आफ्ना काका भएको बताइन्। उनले काका र आफूबीच लामो समयदेखि बोलचाल नरहेको पनि बताइन्।
मेयर शाहीले जेन्जी आन्दोलनका क्रममा नगरपालिकाको भवन जलाउन आएकाहरूलाई आफूसँग बदला लिन मुख्यमन्त्री शाहले उक्साएर आफ्नो विरुद्ध प्रयोग गर्न अस्पताल विकास समितिमा राखेको गुनासो गरिन्।
‘उहाँहरूलाई मैले महिला भएर नेतृत्व गरेको र नगरको विकास गरेको स्वीकार्न गाह्रो भएको जस्तो लाग्छ,’ उनले भनिन्, ‘मान्छेहरू उचालेर मेरो विरुद्ध प्रयोग गर्दैमा म डराउँदिन। सम्झौता नभई किन हामीलाई अस्पतालमा प्रदेश सरकारको मनपरी खटनपटन स्वीकार्य छैन।’
उनले पार्टीका आन्तरिक कुरासमेत गरिन्। आफू हुलाकी मार्ग हुँदै पार्टी सभापति गगन थापालाई भेट्न गएको कुरा मुख्यमन्त्री शाहलगायतलाई चित्त नबुझेको हुन सक्ने उनले बताइन्।
‘मेरो आफ्नै घरपरिवारभित्रका काका नै मेरो विरुद्धमा उत्रिएपछि म पनि डिफेन्समा त बस्नुपर्ला नि,’ उनले भनिन्।
साथै, उनले जेठको अन्तिमतिर स्वास्थ्यमन्त्री बनेका कांग्रेसका बेलबहादुर राना मगरलाई आफू बधाई दिन गएको र त्यसबेला मन्त्री मगरले अस्पतालको विवाद समाधान गर्न आश्वासन दिएको पनि बताइन्।