राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सूची सार्वजनिक भएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा प्रमाणित सूची अनुसार महामन्त्री, सह-महामन्त्री लगायत पदमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।
पार्टीको संशोधित विधान अनुसार पदाधिकारी संख्या १९ जनाको छ। यसमध्ये सभापतिसहित ७ जनाको मात्र निर्वाचन हुने व्यवस्था छ।
सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेकाले बाँकी ६ जना पदाधिकारीका लागि मात्र मतदान हुनेछ। वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाह सहित १२ जना पदाधिकारी मनोनीत हुने छन्।
निर्वाचन हुने पदाधिकारीमा एक उपसभापति (खुला), एक महिला उपसभापति, एक महामन्त्री (खुला), दुई सह-महामन्त्री (खुला) र एक महिला सह-महामन्त्री छन्।
आयोगले सार्वजनिक गरेको सूची अनुसार उपसभापति (खुला) तर्फ स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेको छ। यो पदमा दाबी गरेका विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, उपसभापति (महिला) को एक सिटका लागि पार्टीभित्रका दुई प्रभावशाली नेता सोबिता गौतम र डा. तोसिमा कार्की आमनेसामने भएका छन्।
सबभन्दा रोचक र तीव्र प्रतिस्पर्धा महामन्त्री पदमा देखिएको छ।
महामन्त्री पदका लागि पार्टीका प्रमुख नेताहरू सहित १० जनाको प्रारम्भिक उम्मेदवारी दर्ता भएको छ।
महामन्त्रीका उम्मेदवारमा कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, जगदीश खरेल (ललितपुर), रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य रहेका छन्।
सूचीमा नाम भए पनि जगदीश खरेलले उम्मेदवारी फिर्ता लिइसकेका छन्।
सह-महामन्त्री (खुला) तर्फ दुई पदका लागि प्रारम्भिक सूचीमा ११ जनाको नाम समेटिएको छ।
यसमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असीम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरू, हरि ढकाल र हिमेश पन्त छन्।
त्यसैगरी, सह-महामन्त्री (महिला) को एक सिटका लागि ५ जना चुनावी मैदानमा छन्।
यो पदका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डांगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार दाबी विरोध र नाम फिर्ता लिने समय समाप्त भएपछि अन्तिम सूची प्रकाशन गरिनेछ।