राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदबाट कविन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन्।
बुर्लाकोटीले फेसबुकमा स्ट्याटस लेखेर महामन्त्रीको उम्मेदवारी फिर्ता लिएका हुन्।
उनले पार्टीको हित नै सर्वोच्चता ठानेर, निरन्तरको संघर्षबाट निर्माण गरिएको पार्टीमा एउटा जिम्मेवारीको लागि करिब दर्जन उम्मेदवार साथीहरूसँग भिडेर जिम्मेवारीको दौडमा रहनु खास चाहनाको विषय रहन नसक्ने बताएका छन्।
'आफ्नो व्यवस्थापनको लागि होइन, राजनीतिक भविष्यका लागि पनि होइन तर राष्ट्र निर्माणका लागि एकजुट हुनुपर्ने ठाउँमा हामी आफै कमजोर हुने दिशामा जानु हुँदैन,' उनले लेखेका छन्,'तसर्थ पार्टीको ऐतिहासिक प्रथम ऐतिहासिक महाधिवेशन भरतपुर, चितवनमा जारी केन्द्रीय पदाधिकारी निर्वाचनका क्रममा महामन्त्री पदमा दिएको उम्मेदवारी समझदारी कायम होस् र पार्टीमा सकारात्मक एवं बृहत एकताको चिन्तन सम्वर्धन होस् भन्ने अभिप्रायले व्यक्तिगत र पार्टीको शुभचिन्तकहरूसँग आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँछु।'