राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदका आकांक्षी चार उम्मेद्वारले विपिन आचार्यलाई समर्थन गरेका छन्।
महामन्त्री पदको दाबेदारी प्रस्तुत गरेका प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली र जगदिश खरेल (ललितपुर) ले विपिन आचार्यलाई समर्थन गरेका हुन्।
महाधिवेशनमा मतदान हुनु ठीक अघि सभापति रवि लामिछानेले विपिन आचार्यको नाममा सर्वसम्मत गराउने प्रयास गरेका थिए।
सर्वसम्मतको प्रयास असफल भएपछि उनले क्रमश आकांक्षीहरुलाई पछि हटाएका हुन्। रास्वपाका पूर्व उपसभापति डिपी अर्याल निकट रहेका कबिन्द्र बुर्लाकोटी र गणेश पराजुली पनि विपिनलाई समर्थन गर्दै पछि हटेका हुन्।
पत्रकार सम्मेलन गरेर उनीहरुले विपिनलाई आफूहरुको समर्थन रहेको बताएका हुन्।
'अहिले हामी सबै जना; कविन्द्र बुर्लाकोटी, म गणेश पराजुली, प्रमोद न्यौपाने, जगदीश खरेल र शिशिर खनाल हामी सबै जनाले विपिनलाई समर्थन गर्ने निर्णय गरेका छौं। र सबै महाधिवेशन प्रतिनिधिहरूलाई अनुरोध गर्न चाहन्छौं यहाँहरूले अप्ठ्यारो गरी निर्णय गर्नुपर्ने अवस्था नरहेको र हामी सबैको समर्थन विपिनलाई रहेको र उहाँलाई भोट हाल्न अनुरोध गर्न चाहन्छौं,' पत्रकार सम्मेलनमा पराजुलीले भने।
अर्का महामन्त्रीका आकांक्षी परराष्ट्रमन्त्री शिशिर खनालले भने यसअघि नै उम्मेद्वारी फिर्ता लिएका थिए।
तर उनी पत्रकार सम्मेलनमा भने सहभागी भएनन्। स्रोतका अनुसार शिशिरले मनिष झालाई समर्थन गरेका छन्। उनले आफू उम्मेदवार बन्दा मनिषलाई अफ्ठ्यारो पर्ने देखेर फिर्ता लिएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै आचार्यले आफूलाई समर्थन गर्ने निर्णय गरेर प्रतिस्पर्धाभन्दा अगाडि सहकार्य हुन्छ भन्ने प्रमाणित गरिदिएको बताएका छन्।
'आज विशेष दिनमा पार्टीका नेतृत्वहरू छन्, उहाँहरूमा नेतृत्वको आकांक्षा त छ। तर त्यो भन्दा ठूलो आकांक्षा चाहि पार्टीलाई एउटै धागोमा बाँधेर अघि बढाउने भन्ने जुन दृढ विश्वास छ। त्यसलाई साथीहरूले सबैका सामु राखिदिनुभएको छ। एउटा उन्नत लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुन्छ। तर त्यस भन्दा अगाडि जहिल्यै सहकार्य पनि हुन्छ भन्ने देखाइदिनुभएको छ,' उनले भनेका छन्।
महामन्त्री पदमा अब विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकालको उम्मेदवारी कायम भएको छ। त्यसमा अझै सहमतिको प्रयत्न भइरहेको नेताहरूले बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचन केहीबेरमा सुरु हुँदैछ।