चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको पहिरो चरणको निर्वाचनका क्रममा दाङका दुई सांसद सहित ६ जना पराजित भएका छन्।
त्यस्तै दुई सांसद सहित चार जना केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्।
निर्वाचनबाट पार्टी सहमहामन्त्री तथा दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य सबैभन्दा बढी २१२६ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। त्यसपछि तुलसीपुरकी संगीता ढकाल खड्का १०९२ मत, समानुपातिक सांसद खिमा बिक दलित खुलाबाट ९५७ र भूगोलबाट दाङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य देवराज पाठक ८२० मत प्राप्त गरी निर्वाचित भएका छन्। चारमध्ये विपिन आचार्यले महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।
पार्टीको केन्द्रीय सदस्यमा पराजित हुनेमा दुई सांसदहरूमा दाङको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित कमल सुवेदी भूगोलतर्फ ६०१ मत र खुला थारू क्लष्टरमा समानुपातिक सांसद सुरेन्द्र चौधरी ७२५ मत प्राप्त गरी पराजित भए।
त्यस्तै भूगोलतर्फका उम्मेदवारहरू घोराही निवासी गिरिराज पौडेल ५९९ मत, घोराहीकै सुशील अधिकारी ४२७ मत, घोराहीकै चेतन राना ३२४ मत, तुलसीपुरका सुवाश शर्मा ३१६ मत प्राप्त गरे पनि पराजित भए।
चितवनमा भएको पार्टीको पहिलो अधिवेशनबाट सभापति सहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। सभापतिमा रवि लामिछाने निर्विरोध चयन भएका हुन्। ९९ जना केन्द्रीय सदस्य पदमा ३८४ जनाले उम्मेदवारी दिएका थिए।
त्यसमध्ये खुलाबाट २० जना, खस आर्यबाट १० जना, आदिवासी जनजातिबाट ९ जना, थारूतर्फ २ जना, मधेसीतर्फ ५ जना, दलिततर्फ ४ जना, मुस्लिमतर्फ २ र प्रदेशतर्फ सात प्रदेशबाट ५/५ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
केन्द्रीय सदस्यमा सबभन्दा धेरै मत अर्थमन्त्री समेत रहेका स्वर्णिम वाग्लेले प्राप्त गरेका छन्। स्वर्णिमले २,६५६ मत, सोविता गौतमले २,६४१, शिशिर खनालले २,५३८, सागर ढकालले २,३७६, तोसिमा कार्कीले २,३०२ मत प्राप्त गरेका थिए।